नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खेल नेपथ्यमा चलिरहेको समाचार बाहिर आएका छन् ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी पुस १० गते बालकोटमा निर्णायक बैठक बस्दा एमाले उपमहासचिव विष्णु रिमाल पनि सहभागी थिए
एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र समेत रहेका रिमालसँग लोकान्तरका लागि सुशील पन्त र रमेश सापकोटाले नयाँ सरकार गठनको पृष्ठभूमि, एमाले–माओवादी सहकार्य र पार्टी एकताको सम्भावना तथा वर्तमान सरकारको भविष्यलगायत समसामयिक विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सार :
तिक्ततापूर्ण सम्बन्धमा रहेका केपी ओली र प्रचण्ड फेरि नाटकीय ढंगले एक ठाउँमा आउनुभयो । यसको सूत्रधार को हो ?
– राजनीतिमा फरक–फरक दल भएपछि विभिन्न विषयमा बहस र क्रिया प्रतिक्रिया भइरहन्छ । आ–आफ्नो दलको पक्षबाट बोल्दा कतिपय ठाउँमा तिखै पनि भन्नुपर्ने हुन्छ । कतिपय ठाउँमा नर्मल पनि हुन्छ ।
हामी र प्रचण्डबीचको सम्बन्धको कुरा गर्नुपर्दा उहाँ द्वन्द्वका बेलामा जुन बाटो हिँड्नुभयो, त्यसबाट हामी पीडित पनि भयौं । त्यसको हामी आलोचक पनि थियौं । यसकारण हामीबीच मित्रता थिएन । तर हामी जब २०७४ सालको चुनावमा गयौं, त्यतिबेला हामीले धेरै कुरा सुधार्यौं । त्यसपछि हामीले सम्बन्ध सुधार्यौं । त्यो मित्रता कहाँसम्म पुग्यो भने एउटै वाक्य पनि केपी ओली र प्रचण्डले आधा–आधा पढ्ने गरी हामीले भिडियो समेत बनाएका छौं । मित्रताको त्यो तहको निकटतामा पनि हामीले पुर्याएको हो ।
नेपालमा राजनीतिक कन्टेन्टको आधारमा राजनीतिक धार निर्माण हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो– एउटा लेफ्टमा, अर्को ननलेफ्टमा । यो राइटिस्ट र लेफ्टिस्टको कुरा पनि होइन । सेन्टर लाइनबाट दायाँ र बायाँको कुरा हो । ननलेफ्ट धारको नेतृत्व अहिले मूलतः कांग्रेसले गरिरहेको छ । एउटा शक्ति त्यही नै बनोस् ।
अर्को धारको नेतृत्व एमालेले गरिरहेको छ । यो दुई धारबीच कन्टेन्टको आधारमा बहस होस् भन्ने हाम्रो चाहना हो । यसका लागि कांग्रेसलाई विषयमा आउनुस्, बहस गरौं पनि भनेका थियौं । तर मूल कुरा कांग्रेसले त्यसमा रुचि देखाएन । किनभने गठबन्धन नबनाई चुनावमा जाँदा हार्छौं भन्ने डर कांग्रेसलाई भयो । तर, हामीले कांग्रेसलाई पहिले नै पहिलो पार्टी तपाईंहरू बन्न सक्नुहुन्छ भन्दा उहाँहरूले पत्याउनुभएको थिएन ।
प्रचण्डजीसँग एउटा सर्कल पूरा नभएसम्म संवाद हुँदैन भन्ने नै थियो । कांग्रेसलाई प्रधानमन्त्री बनाउने गरी अघि बढ्दा एउटा चक्र पूरा हुनुपर्थ्यो । त्यो चक्र चुनाव सकिएपछि मात्रै पूरा हुन्थ्यो । कि उहाँहरूले जितेर चक्र पूरा हुन्थ्यो, कि उहाँहरूले हारेर चक्र पूरा हुन्थ्यो । त्योबाहेक अर्को बाटो थिएन । चुनावपछि उहाँहरूको चक्र पूरा भयो । विकल्प उहाँहरूसँगै भयो ।
हामीले बोलेका थियौं– चुनावपछि राष्ट्रिय पार्टीका रूपमा बाहिर आएका दलहरूमा स्वतन्त्र पार्टी कुन–कुन हुन् त भन्दा एमाले स्वतन्त्र हो, किनकी आफैं जित्न सक्थ्यो । स्वतन्त्र पार्टी स्वतन्त्र थियो, ऊ कतै थिएन । ऊ पनि स्वतन्त्र ढंगले जित्न सक्थ्यो । जसपा पनि स्वतन्त्र भयो किनकी ऊ गठबन्धनबाट बाहिर निस्किएको थियो । राप्रपा पनि स्वतन्त्र थियो । त्योबाहेक अरू पार्टी स्वतन्त्र थिएनन्, अर्थात् गठबन्धनको बन्धनमा थिए । त्यो बन्धनमा रहेसम्म कोहीसँग संवाद हुने स्थिति थिएन ।
कांग्रेसले स्वतन्त्र भएर राजनीतिलाई एउटा निकास दिनुपर्छ भन्ने थियो, तर उसले रूचि देखाएन । प्रचण्डमा पनि त्यो रुचि थिएन । गठबन्धनलाई उहाँहरूले धर्म भनिरहनुभएको थियो । त्यो धर्म प्रधानमन्त्री बन्ने भन्दा अघिल्लो दिन पुस ९ मा निभाउने प्रत्यत्न गर्नुभयो । आइतबार मध्याह्न १२ बजेसम्म पनि त्यही धर्म निर्वाह गर्नेतिर प्रचण्ड लाग्नुभयो । यद्यपि हामी गठबन्धन नटुटेसम्म कोहीसँग कुरा हुँदैन भनेर बसिरहेका थियौं ।
प्रचण्डजी र शेरबहादुरजी दुवैसँग एमालेको कुराकानी भइरहेको थियो । शेरबहादुरजीहरू ११० सीट (एमाले र माओवादी)लाई सत्ताभन्दा बाहिर राखेर जान सके सबैभन्दा राम्रो हुन्छ भन्नेमा रहनुभयो ।
७८ सीटमा रहेको एमाले र ३२ सीट रहेको माओवादी बाहिर रहिदियो भने अलि हेर्न हुने सरकार बन्छ भन्ने हिसाब उहाँहरूको थियो । त्यो मेहनतमा हुनुहुन्थ्यो । प्रचण्ड पनि कांग्रेससँग नजिक रहेर सरकार बनाउँदा धर्म निभाउन सकिन्छ कि भन्नेमा हुनुहुन्थ्यो । यही दाउपेचमा कांग्रेस र माओवादीको कुरा नमिलेपछि उहाँहरू स्वतन्त्र हुनुभयो ।
स्वतन्त्र हुनसाथ हामीले दुवैलाई एप्रोच गर्यौं । शेरबहादुजीको योजना ५ बजाउने अनि संविधानको धारा ७६ (३) अनुसार अल्पमतको सरकार बनाउने भन्ने थियो । तर, प्रचण्डजी आएर नयाँ ढंगले जाऊँ भनेपछि यस्तो परिस्थिति बन्यो । त्यसपछि हामी पनि नयाँ ढंगले जाने निर्णयमा पुगेका हौं । यसैले सूत्रधार को भयो, कसरी भयो, कसले योजना बनायो भन्ने प्रश्न नै रहेन । राजनीतिक घटनाक्रमले विकास गरेको परिस्थिति हो ।
कांग्रेस नेताहरूले पुस १० गते ३ बजे एमाले बालुवाटार आउने कुरा थियो । हामीलाई समर्थन गर्ने समझदारी भए पनि अन्तिममा धोका दिए भनिरहनुभएको छ नि ?
– त्यो त शेरबहादुर देउवाजीका तर्फबाट फैलाइएको हल्ला मात्र हो । हामीलाई शेरबहादुरजी वा प्रचण्डजीकोमा धाउनुपर्ने बाध्यता थिएन । हामी यसपटक सबैभन्दा सेफ जोनमा थियौं । हामीसँग ७८ सीट थियो । जनादेश पनि अरूले साथ नदिँदा विपक्षमा बस्ने थियो । प्रमुख प्रतिपक्षमा बस्ने थियो । यसलाई कसैले खोस्न सक्ने अवस्था थिएन । तर, शेरबहादुर देउवाजी सेफ जोनमा हुनुहुन्थेन, किनकी उहाँको गठबन्धनमा प्रतिबद्ध भनेको लोसपा र नेकपा एस मात्रै थियो, अरू थिएनन् । अरू आ–आफ्नो तरिकाले बुझिरहेका थिए ।
प्रचण्डजी १२/०१ बजे बालकोट आउँदा कसरी १३४ सीट पहिले नै ग्यारेन्टी हुन्थ्यो त ? त्यसैले देउवाजीको पनि ग्यारेन्टी थिएन । यदि राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग हामीले संगत गर्यौं । यिनीहरूसँग कांग्रेस संवादमा थियो भने त प्रचण्डजी हामीसँग संवादमा हुँदा पनि सरकार बन्ने अवस्था त हुने थिएन नि, किनकी यता ११० मात्रै हुने थियो । एमालेसहित १३४ जना बालकोटमै विद्यमान थिए । तर प्रचण्डको आउने वा नआउने केही टुंगो थिएन, किनकी उहाँ त्यतिबेलासम्म पनि बालुवाटारमा हुनुहुन्थ्यो । हामी चुपचाप बसेका थियौं । हामीले ती साथीहरूलाई तपाईंहरू स्वतन्त्र हुनुहुन्छ भनेका थियौं ।
उपेन्द्रजीले एकपटक भन्नुभएको पनि छ, हाम्रो तालमेल चुनावसम्म मात्रै हो भनेर । हामी कहीँ पनि प्रतिबद्ध छैनौं भन्नुभयो । हामीले पनि चुनावभरी त्यही बुझाउन खोज्यौं । हामीले गरेको तालमेल लोकल थियो, जहाँ शुरू भयो, त्यहीँ सकियो । केपी ओली चुनाव लडेको ठाउँमा उपेन्द्रजीले उहाँको विरुद्ध उम्मेदवार उठाउनुभएको थियो । हाम्रो त्यस्तो तालमेल भए पनि हामीले चित्त दुखाएका थिएनौं । स्वतन्त्र रहेकाहरू सबै हामीसँग संवादमा थिए । कांग्रेसमा एरोगेन्सी बढेको छ । सत्तामा नरहे पनि सत्ताधारी जस्तै भइदिन्छ । त्यो कुरा अरू दललाई मन परेको थिएन । त्यसैले हामीलाई साथ दिनुभयो ।
यसपटक हाम्रो अध्यक्षले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारमा अघि सार्नुभएन । हाम्रो पार्टीले उहाँलाई प्रधानमन्त्रीको उम्मेदवार भनेर गएको थियो, तर अहिले प्रधानमन्त्रीमा हतारिनुको काम छैन, राजनीतिलाई स्थिरता दिनुपर्छ भनेर लाग्नुभयो । हाम्रो अध्यक्षले तीनवटा विषय उठाउनुभएको छ, हामीले त्यसैका लागि मेहनत गरेका हौं ।
पहिलो कुरा राजनीतिक स्थिरताको हो । स्थिरताको ग्यारेन्टी भइसकेको छैन । सातदलीय गठबन्धनलाई एक ढंगले व्यवस्थापन गर्न सकियो भने मात्र स्थिरता हुन्छ, नत्र अप्ठ्यारो पर्न सक्छ । तर, म केमा विश्वस्त छु भने सातदलीय गठबन्धन तलमाथि नहोला ।
दोस्रो भनेको भयावह बनेको अर्थतन्त्रबारे हो । शेयर बजारमा अर्कै उछाल आएको छ । यो एमाले सरकारमा आयो भन्ने विश्वासका कारणले गर्दा हो । यसले आर्थिक अनि वित्तीय अनुशासन उल्लंघन गर्दैन भन्ने विश्वास हो । तर, स्थिति अप्ठ्यारो छ । अनावश्यक ठाउँमा स्रोत सुनिश्चित गरिएको छ । झण्डै एक खर्ब रुपैयाँ सुनिश्चित गरिएको छ ।
यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता नै छ । राजस्वले केही पनि थेगिरहेको छैन । राजस्वभन्दा खर्च बढी छ । यो सबै मिलाउनुपर्ने स्थिति छ । तेस्रो विषय सांस्कृतिक र सामाजिक मूल्य मान्यतामाथि भएको क्षयीकरणको कुरा उठाउनुभएको छ । यसलाई सुधार्ने कसरी ? विकल्प चाहिन्छ । कांग्रेसले रियलाइजेसन गर्छ भने एमाले सरकारमा आउने वा नआउने मुख्य कुरा होइन । सरकार सञ्चालन र सत्तामा जाने कुरा फरक हुन् ।
सत्ता सञ्चालनमा साझेदारी खोज्छौं, तर सत्ता सञ्चालन एक्लै गरे पनि हुन्छ भनेर कांग्रेससँग भनेका थियौं । यसमा कांग्रेसले रुचि देखाएन । एमालेबाहेकका ६ दलले चासो देखाएपछि सहज ढंगले अगाडि जाने स्थिति बनेको हो ।
साढे २ बजेसम्म सबै जम्मा भइसक्नुभएको थियो । साढे ४ बजे साथीहरू शीतलनिवास पुगिसक्नुभएको थियो । के गर्ने कसरी बाँडफाँट गर्ने भन्ने नै बाँकी रहेन । प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने, राष्ट्रपति र सभामुख एमालेले लिन्छ, अरू मिलाएर गरौं भनेर एक ठाउँमा उभिएका हौं ।
तर, प्रचण्ड र ओलीबीच केही भित्री सहमति भएको छ कि भनेर पनि आशंका गरिएका छन् नि ?
– कुनै कुरा गोप्य भएको छैन । सात दलका अध्यक्षहरूसित मात्रै होइन, दलबाट ज–जसलाई लिएर जानुभयो उहाँहरू सबैका बीच कुराकानी भएको हो । भनिएका र कागजमा सही गरिएका कुरा नै यत्ति नै हुन् ।
हाम्रो अध्यक्षलाई शेरबहादुरजीको फोन आएको थियो । उहाँ (देउवा)ले आउनुस्, मिलेर सरकार बनाऔं, दुईजनाले सही गरेर जाऔं भन्नुभएको थियो । अध्यक्षज्यूले प्रचण्डजी आउनुभएको छ । उहाँको कुरा सुनौं, अनि मात्रै भन्छु भनेर जवाफ दिनुभयो ।
त्यसपछि उहाँले ‘शेरबहादुरजीले प्रधानमन्त्री बनाउन मलाई समर्थन गर भन्नुभएको छ । अहिले तपाईं (प्रचण्ड) यहाँ आउनुभयो । तपाईंको भनाई के छ ? भनेर सोध्नुभयो ।
त्यसपछि प्रचण्ड कमरेड अलि अप्ठ्यारोमा पर्नुभएको देखियो । के भन्न खोजेको हो भनेर द्विविधामा परेजस्तो गर्नुभयो । हाम्रो अध्यक्षले म बालुवाटार जान्छु भन्न खोज्या हो कि जस्तो पर्यो होला सम्भवतः उहाँलाई । अनि प्रचण्डजीले म बालुवाटार छाडेर आएँ । विपक्षमा नै बस्ने मानसिकता लिएर आएको छु भन्ने भाषा प्रयोग गर्नुभयो । त्यसपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीमा समर्थन गर भन्न खोज्नुभएको हो ? भनेर सोध्नुभयो । प्रचण्डले ‘हो’ भन्नुभयो ।
स्वतन्त्र पार्टीका रवि लामिछाने त्यहीँ हुनुहुन्थ्यो । जसपाका अशोक राई, जनमत पार्टीका सीके राउत त्यहीँ हुनुहुन्थ्यो । नागरिक उन्मुक्तिकी रञ्जिता (श्रेष्ठ)जी बाटोमै हुनुहुन्थ्यो । उहाँहरूसँग तपाईंहरूको राय के छ त प्रचण्डबारे भनेर सोध्नुभयो । रवि लामिछानेले हामी त सल्लाह गरेर नै बसेका छौं भन्नुभयो । ठीक छ तपाईं (प्रचण्ड)लाई प्रधानमन्त्री बनाउन सकिन्छ, ओलीजीसँग सल्लाहमा नै थिएँ, मलाई आपत्ति छैन भन्नुभयो ।
उहाँ (रवि)को अर्को एउटा कुरा पनि थियो– हामी २० सीटवाला पार्टी हौं । शेरबहादुरजीकोमा पनि गएको थिएँ, तर उहाँले १० सीट भएको माधव नेपालको पार्टीलाई एक वर्ष प्रधानमन्त्री दिने कुरा गर्नुभयो । म त यहाँ प्रधानमन्त्री मागिरहेको छैन । म त तपाईंहरूको आलोचक पनि हुँ, किनकी तपाईंहरूको आलोचना गरेरै हामीले पार्टी बनाएका छौं । फेरि तपाईंहरूको योगदानको प्रशंसक पनि हौं, किनकी इतिहासमा तपाईंहरूले लडेर ल्याइदिएकै व्यवस्थामा हामीले पार्टी बनाउन पाएका छौं । त्यसकारण तपाईंहरूसँग सहकार्य पनि गर्ने र भित्र बसेर आलोचना पनि गर्ने भन्ने मोडमा हामी यहाँ आएका छौं । मचाहिँ राष्ट्रपति वा प्रधानमन्त्रीमा दाबी गर्ने मान्छे होइन । तर १० सीट भएको पार्टीले एक वर्ष प्रधानमन्त्री पाउँछ भनेर उतातिर कुरा भएपछि २० सीट भएको पार्टीले के पाउँछ भनेर जिज्ञासा राखेको थिएँ । मिलेर काम गर्नुपर्छ भन्ने मात्रै मेरो माग हो । अरू केही दाबी छैन भन्नुभयो ।
जसपाले दलको नेता छानिसकेको थिएन । उपेन्द्रजी सिधै शीतलनिवास जानुभयो । जनमतका अध्यक्षले बालकोटमा नै हाम्रो समर्थन छ भन्नुभयो । रञ्जिताजीले बालकोट आऊँ कि सिधै शीतल निवास जाऊँ भनेपछि उतै आउनुस् भन्यौं । यी सबै काम सहजै भए । ५ दल, ६ दल ७ दलका नाममा खरी खसाइ गर्नुपरेन ।
एमाले आफैं यसपटक रिल्याक्स मूडमा थियो । हामी सेफ जोनमा थियौं । हाम्रो ठाउँ सुनिश्चित थियो । पपुलर भोटमा जनताले सबैभन्दा बढी पत्याएको पार्टी हो । त्यस हिसाबले पहिलो र अंकगणितले दोस्रोमा थियौं । कसैले साथ दिए मात्रै सरकार बनाउन सक्ने अवस्था हाम्रो हो । अन्यथा प्रमुख प्रतिपक्षी नै हाम्रो ठाउँ थियो । यो स्थिति भइसकेपछि जनादेश फलो गर्नेमा ढुक्क थियौं ।
हामीलाई सन्तोष किन पनि थियो भने गठबन्धन बनाएर हामीलाई भित्तामा पुर्याउँछौं, इतिहासको कालखण्डमा एमाले भन्ने थियो, अहिले छैन भन्ने बनाउँछौं भन्ने हिसाबको दुराशयपूर्ण प्रचारबाट एमाले बाँच्यो । बरू शक्तिशाली पार्टी भएर आएकोमा खुशी छौं । त्यसैले हामीलाई कुनै अप्ठ्यारो भएन ।
दुई घण्टामा गठबन्धन बन्नु कुनै चमत्कार भन्दा कम थिएन । तर, बाहिर त कुनै शक्ति केन्द्रले यसरी छोटो समयमा गठबन्धन बनाइदियो भन्ने परेको छ नि ?
– यो आरोप तथ्यसँग नजिक छैन । प्रचण्ड र हाम्रो पार्टीसँग कम्युनिस्ट नाम जोडिएको छ । तर, दुई घण्टा अगाडिसम्म प्रचण्डजी अर्कै गठबन्धनमा हुनुहुन्थ्यो नि । चिया खाएर खाना खाने निहुँ पारी प्रचण्डजी बालुवाटारबाट बालकोट आउनुभएको हो । त्यसअघि त गठबन्धनले प्रचण्डजीलाई इन्गेज बनाएर राखिरहेको थियो नि । शक्तिकेन्द्र थिए भने त बालुवाटारतिरै थिए होला नि त । हाम्रोतिर तर अर्ग्यानिक कुरा हो । सात दलमा त सातथरी मत भएका पार्टी छौं ।
स्वतन्त्र पार्टीले भर्खरै आफ्नो परिचय बनाउँदै छ । समकालीन पार्टीका विरुद्ध उत्रिएर, उनीहरूका कार्यसम्पादनमा प्रश्न उठाएर बनेको पार्टी हो । आफ्नो विचार के हो भनेर भनिरहनुभएको छैन । लेफ्ट विङ होइनौं भनिरहनुभएको छ । मुकुल ढकाल (रास्वपा महामन्त्री)लाई मैंले जिस्क्याएँ पनि तपाईं महासचिव हो कि महामन्त्री हो भनेर । उहाँले हामी महामन्त्री भन्छौं भन्नुभयो । किन महामन्त्री भनेको त ? तपाईं कम्युनिस्ट पार्टीमा महासचिव भन्नुहुन्छ, हामी त कम्युनिस्ट पार्टी होइनौं, राइट विङ हौं, त्यसकारण महामन्त्री भन्छौं भन्नुभयो । उहाँले आफ्नो कुरालाई गर्वका साथ भन्नुभयो ।
कम्युनिस्ट पाटीसँग राइट विङ भन्नेलाई कुन शक्ति केन्द्रले मिलाइदेला ? त्यसलाई मिलाउन कुनै राइट विङ नै आउनुपर्ला । तर त्यहाँ त्यस्तो कोही थिएन । लेफ्ट विङलाई कुनै अत्तोपत्तो नै थिएन ।
आन्तरिक राजनीतिमा उत्तर-दक्षिण, पूर्वपश्चिम, सुदूरपश्चिम कसैको पनि हात हामी रुचाउँदैनौं । यो नेपाल र नेपालीले बनाउने सरकार हो । राप्रपाको आफ्नै पोजिसन छ । जसपाको पोजिसन आफ्नै ढंगको छ । जनमतको छुट्टै मत छ । उन्मुक्ति पार्टीको सीमित एजेन्डा छन् । जातीय एजेन्डा छन् । आफ्नो नेता रिहाइको एजेन्डा पनि छन् । विभिन्न मत बोकेका पार्टीलाई मिलाएर सरकार बनाएका छौं भने कुन शक्ति केन्द्रले बनाइदियो भनेर भन्ने त ? यसमा शक्ति केन्द्रको कुनै अर्थ नै छैन ।
स्थिरताको कुरा गर्नुभयो । सातदलीय गठबन्धन नै रहने बताउनुभयो । तर कतिपयले त प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा नै आशंका व्यक्त गरेका छन् नि ?
– नेपाली कांग्रेसको मेहनत यसमा छ, किनकी कांग्रेसको अभिव्यक्ति देख्दा सबैभन्दा बढी पीडा उसलाई देखिन्छ । लोकतन्त्रमा हारजीतलाई स्वाभाविक मानिएन भने त्यसले कुण्ठा जन्माउँछ । हामीले खुला रूपमा दुईवटा शक्ति बनाऔं भनेर कांग्रेसलाई भनेकै हो । दुवै पक्षले एजेन्डामा बहस गरौं भनेका हौं । उहाँहरूले मान्नुभएन । सत्ता गुम्यो भनेपछि उहाँहरूलाई पीडा भएको छ ।
उहाँहरूका आन्तरिक समस्या पनि होलान्, त्यसैले उहाँहरू यो सरकार टिक्दैन भनिराख्नुभएको छ । इतिहासमा झण्डै दुईतिहाइ मत भएको सरकार गिरेर त अस्थिरता आयो भने सातवटा पार्टी मिलेर पाँच वर्ष मज्जाले चल्छ भन्दा जनताले तत्काल नपत्याउलान् । यस्तोमा प्रश्न गर्नु स्वाभाविक नै हो । तर अहिले प्रचण्डले विश्वासको मत पनि पाउँदैनन्, यो सरकार पनि गिर्छ भन्नु गैर गठबन्धनबाट फिँजाइएको हल्ला मात्र हो । यसमा विभिन्न कथा बुनेर बाहिर ल्याउने प्रयत्न गरिएको छ ।
यही गठबन्धनलाई समर्थन गरेका दललाई प्रधानमन्त्रीको अफर गरिएका छन् भन्नेसम्मको चर्चा सुनिन्छन् नि ?
– हो, हामीले पनि यस्ता चर्चा सुनेका छौं । विभिन्न व्यक्तिलाई प्रधानमन्त्रीको ‘अफर’ आएको भन्ने छ । यो गैरराजनीतिक कुरा हो । गैर राजनीतिक काम भयो र भद्रगोल नै भयो भने कसको के लाग्छ र ? तर जहाँसम्म मेरो आफ्नो विश्वास छ, अहिले गठबन्धन बनेको तरिका, न्यूनतम् साझा कार्यक्रमको अन्तिम तयारीले गर्दा यस्तोमा प्रधानमन्त्री उधारोमा पाउनासाथ गठबन्धन टुटाएर अस्थिरता सिर्जना गर्नेतिर कोही लाग्छ भन्ने लाग्दैन । त्यस्तो हो भने जाने चुनावमा नै हो, किनकी त्यसपछि कोही पनि प्रधानमन्त्री बन्न सक्दैन । अर्को भाँडभैलो शुरू हुन्छ । अर्थतन्त्रले पनि थेग्दैन । त्यसैले यस्तो भाँडभैलो नहोस् भन्नेतिर हामी छौं । यस्तो खेल भयो भने यसविरुद्ध प्रतिक्रिया त आइहाल्छ नै । यसको नकारात्मक प्रभाव आफ्नो ढंगले पर्छ ।
एमालेले राष्ट्रपति र सभामुख पाउने भन्ने समझदारी भइरहँदा पार्टीभित्र कसलाई अगाडि सार्ने भन्ने छलफल भएको छ ?
– पार्टी कमिटीमा यो विषयमा छलफल भएको छैन । अहिले सरकारलाई आकार दिने भन्नेमै केन्द्रित छौं । सभामुखको चुनावका लागि सांसदबीच नै छलफल हुने हो । यसमा सहज सीमा छन् । प्रतिनिधिसभाको कोही सदस्य नै सभामुख बन्छ । त्यसपछि मात्रै हामी राष्ट्रपतिको विषयमा प्रवेश गर्छौं ।
सरकारमा माओवादीसँग सहकार्य भयो । २०७४ सालमा मिले पनि बीचमा दुर्घटनामा पर्यो । यसपटक फेरि पार्टी एकतासम्मै पुग्नेगरी मिलनका केही आधारहरू छन् कि सत्तामा मात्रै हो तपाईंहरूको गठबन्धन ?
– सरकार टुट्छ भन्ने जुन आकलन छ, यही बेला एमाले र माओवादीबीच एकीकरण भइहाल्छ भन्नु अर्को अति परिकल्पना हो, किनभने जुन खालको एकता र विभाजनको दौडबाट हाम्रो पार्टी गुज्रियो, यस्तोमा एमालेले कुनै पनि एकताको पक्षमा हतारो गर्दैन । पहिला त विश्वास नै जित्नुपर्ने हुन्छ । त्यतिखेर उत्साहमा गरिएको एकताले परिणाम राम्रो दिएन । दुर्घटना नै भयो । त्यसको क्षति राष्ट्रले भोग्यो । हाम्रो पार्टीले भोग्यो । माओवादीले पनि भोग्यो होला । माधव नेपालजी त एउटा ढंगले अहिले पनि भोगिरहनुभएको छ । यसैले अहिले पहिलेको जस्तो एकीकरण वा एकता भन्ने हुँदैन । अहिले सरकारमा मिलेर काम गर्ने भन्ने मात्रै हो ।
सैद्धान्तिक रुपमा नमिल्नुपर्ने कारण के छन् ?
– यहाँ सिद्धान्तको कुरा कहाँबाट आयो ? सिद्धान्तको कुरा हुन्थ्यो भने त नेकपा फुटाएर त्यहीँभित्रका दुई समूह मिलेर २३ सीट जितेको कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाएर दौडनुपर्थ्यो र ?
प्रचण्डमा एउटा ‘रियलाइजेसन’ त आयो होला नि ?
– प्रचण्ड कमरेडबारे मैले बोल्न मिलेन । उहाँमा ‘रियलाइजेसन’ आयो कि आएन भन्ने प्रश्न प्रचण्डजीलाई नै सोध्नुपर्छ ।
भनेपछि पार्टी एकतासम्म पुग्ने गरी गृहकार्य भएको छैन ?
– हो, छैन । अहिले पार्टी एकताका लागि कुनै गृहकार्य नै हुँदैन । पार्टी एकताको बाटोमा नै अहिले हामी हिँड्दैनौं, सम्भवतः नेकपा माओवादी केन्द्र पनि यो बाटोमा हिँड्दैन । अहिले त्यो वस्तुगत स्थिति नै होइन । जसले जे भने पनि अहिले जसको जे हैसियत छ, त्यसमै मिलेर अगाडि जाने हो । सकेसम्म मिल्ने, नत्र झगडा नगरी मिल्ने हो । यो नै अहिलेका लागि राम्रो हुन्छ ।
माधव नेपाल त तपाईंहरूबाटै छुटेका हुन् । सैद्धान्तिक रूपमा तपाईंहरूबीच खासै भिन्नता देखिन्न नि !
– माधव नेपालजीहरू पनि सैद्धान्तिक रहनुभएन । प्रचण्डजीले गठबन्धन छाडेर आउँदा पनि माधव नेपालजीले कांग्रेसलाई छाड्ने आँट आजका मितिसम्म गर्नुभएको छैन । जबसम्म उहाँहरूले पुरानो गठबन्धनसँग हाम्रो सम्बन्ध टुट्यो भन्नुहुन्न, तबसम्म उहाँसँग संगत गर्नुपर्ने जरुरी नै छैन ।
पुरानो गठबन्धन नयाँ सरकारमा बहुमतनजिक थियो । ६ सीट जनमत पार्टीले दिने पक्का गरेको थियो । त्यस्तो स्थितिमा जरकमरक गर्नुपर्ने आवश्यकता हामीलाई थिएन । ७८ सीट भएको हामीलाई १३८ सीट पुर्याउन धेरै नै मेहनत गर्नुपर्ने अवस्था थियो । उहाँहरूलाई ६ सीट भएको पार्टीसँग मिल्नासाथ पुग्थ्यो । अहिले त्यहाँबाट प्रचण्ड यता आउनुभयो । जसपा उता थिएन, राप्रपा यतै भयो ।
नयाँ परिस्थितिमा पनि माधव नेपालको पार्टीले त्यतातिरको संगत छाड्यौं भनेको छैन । त्यसैले उहाँहरूबारे हतारोमा बोल्नु जरुरी छैन ।
माधव नेपाललाई राष्ट्रपति बनाउनेसम्मको चर्चा सुनिन्छन् नि ?
– उहाँलाई राष्ट्रपति बन्न मन होला, तर त्यो हामीले सुनेका छैनौं । पहिले राष्ट्रपति बनाउन खोज्दा उमेर भएको छैन भन्नुभएको थियो । अहिले फरक पार्टीमा परेको हुनाले उमेर पुग्यो कि पुगेन सोध्न पाएको छैन ।
केपी ओली प्रधानमन्त्री हुँदा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने कुराको विरोध भएको थियो । यसपटक ओली आफैं संयन्त्रको संयोजक बन्ने कुरा आउँदा किन विरोध नभएको ?
–संयन्त्र बनाउनुपर्छ भन्ने दलको साथी प्रधानमन्त्री हुनुभयो । उहाँले यसको आवश्यकता महसूस गर्नुभयो । त्यसपछि हामीले त्यसमा विरोध गरेनौं ।
भनेपछि यो सरकार राम्ररी नै दुई वर्ष चल्छ ?
– यो सरकार पाँच नै वर्ष चलाउने प्रयत्न गर्छौं । प्रधानमन्त्रीको सन्दर्भमा आधाआधी भनेका छौं । हेरौं, कहाँसम्म जान्छ । एमालेको तर्फबाट कुनै कसर बाँकी रहँदैन । हामी समझदारीपूर्वक नै जान चाहन्छौं । प्रचण्डजीलाई आधा अवधि प्रधानमन्त्री बनाउन रहर लागेर होइन, त्यसपछि केपी ओलीलाई प्रधानमन्त्री बनाउने हाम्रो योजना भएर पनि होइन, हामी स्थिरता, अर्थतन्त्र र सामाजिक सांस्कृतिक मूल्यमान्यताप्रति चिन्तित छौं । त्यो जोगाउन स्थिरता चाहिन्छ । यसका लागि के–के त्याग्नुपर्छ, एमाले तयार छ ।
चुनावपछि केपी ओलीले मुलुक मध्यावधिमा जाने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभएको थियो । त्यो शंका अहिले कायम छ कि छैन ?
– अहिले पनि हामीलाई चिन्ता छ, किनकी हामीले बनाएको गठबन्धन चलेन र टुट्यो भने ठूलो दलले सरकार बनाउने हो । त्यो भनेको अल्पमतको सरकार हो । त्यो भनेको नेपाली कांग्रेसले सरकार बनाउने हो ।
हामी अहिले ७९ सिटमा छौं, भरे भोलितिर ८० सिट हुन्छौं होला । कांग्रेसको ८९ सिट छ । ९ सिट बढी भएको कांग्रेसले सरकार बनाएर एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।
अहिलेको अवस्थामा विश्वासको मत उसले पाउने स्थिति हुँदैन । जुन कारणले अहिलेको गठबन्धन टुट्छ, त्यही कारणले अर्को गठबन्धन बन्दैन । गठबन्धन नबन्दा संसद् विघटनको बाटोमा जान्छ । यस्तोमा कुनै एक सांसदमा हामीलाई विश्वास छ भनेर जाने हो । तर यसमा पनि बहुमत पुग्छ भन्ने छैन । यस्तो पनि नहुँदा मध्यावधिमा जाने हो । त्यो पनि मध्यवधि भएन भने ‘अर्ली इलेक्सन’मा जाने हो । तत्काल चुनावमा जाने हो ।
हामी तत्काल चुनावको बाटोमा छैनौं, किनभने अर्थतन्त्र साह्रै ओरालोमा छ । अर्थतन्त्र जोगाउन पनि अहिले आएको जनादेशलाई टिकाएर लानु नै उपयुक्त हुन्छ । तिक्तता बढाएर कसैलाई फाइदा छैन । कांग्रेस पनि दुःखी भइरहनु जरुरी छैन, किनकी उसले नसोचेको समयमा १७/१८ महिना सरकार चलाउन पाएको छ । गर्ने/नगर्ने सबै गरिहाल्यो । कांग्रेसले गर्ने भनेको अर्थतन्त्रलाई चौपट पार्ने हो त्योभन्दा बढी उसले के अभ्यास गर्ने र ? लोकान्तर डटकमबाट साभार