नेपाल राज्य संवाददाता
अर्घाखाँची– माओवादी पृष्ठभूमिबाट लगातार तीन पटक चुनाव जितेर मन्त्री र उपप्रधानमन्त्रीसम्म भैसकेका एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीसँग मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा भिड्न कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) ले जमर्काे गरेका छन् ।
५ दलीय गठबन्धनको साथ र जनस्तरसम्म आफ्नै लोकप्रियताका कारण कांग्रेसले टिकट दिएमा भारी मतले चुनाव जित्न सकिने मुस्कानले बताए । कांग्रेस जिल्ला सभापति भएको बेला पाटी संगठनमा देशभरका ७७ जिल्ला मध्ये उत्कृष्ट काम गरेर केन्द्रीय नेताको मन जित्न सफल मुस्कानलाई गठबन्धनका नेताबाटै उम्मेदवार बन्न दवाव दिएका छन् । मुस्कान उम्मेदवार भएमा धेरै एमाले कार्यकर्ताले पनि मत दिने र भारी मतले जिताउन सकिने दावी गठबन्धनका नेताको छ । उनी अहिले टिकटका लागि काठमाडौमा रहेका छन् । कांग्रेस वृत्तमा जिल्लाको पाटी संगठन र जनस्तरमा लोकप्रिय छन् ।
मुस्कानको उम्मेदवारको चर्चाले रायमाझी सहित एमाले झस्किएको छ । मुस्कान आएमा चुनाव जित्नै नसकिने एमाले कार्यकर्ता बताउँछन् ।
नेकपा विभाजनपछि प्रचण्डलाई छाडेर केपी ओलीतिर लागेका रायमाझीलाई चुनाव जित्न निकै कठिन छ । नयाँ एमालेबाट उनी चुनाव जित्नैपर्ने भन्दै एक वर्षदेखि निरन्तर गाउँमा डुल्दै एमाले कार्यकर्ताको मन जित्न दौडधुप गरेका छन् । एमालेबाट रायमाझी निर्विकल्प उम्मेदवार हुन । कांग्रेसमा भने मुस्कान सहित अरू नेता पनि टिकटको लबिङमा छन् । रायमाझी बलियो उम्मेदवार हुन् ।