नेपाल राज्य संवाददाता
रुपन्देही । विवादका कारण बजेट पास हुन नसकेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सोमबारका लागि बोलाइएको नगरसभाको बैठक बैठक नै नबसी सूचना टाँसेर स्थगित भएको छ । सचिव माधव प्रसाद पौडेलले बैठक सुरु हुने केही समयअघि सूचना टाँसेर ३ गते ११ बस्ने जनाएका छन् । आइतबार विवादपछि स्थगित भएको नगर सभा सोमबार १२ बजेका लागि बोलाइएको थियो ।
बजेट पास गर्नका लागि केही दिनयता नियमित रुपमा बैठक बसेपनि कांग्रेसबाट निर्वाचित मेयर रामकृष्ण खाँड तथा एमालेबाट निर्वाचिन उपमेयर जागेश्वरी चौधरीका आआफ्नै अडानले टुंगो लाग्न सकेको छैन । नगरसभामा बहुमतमा रहेको एमालेले बजेटसहित सभाबाट ३ विषयगत समिति प्रस्ताव गर्नुपर्ने अडानमा छ भने मेयर खाँड अल्पमतमा रहेकाले आफ्नो अधिकार प्रयोग गर्दै अहिले नगरसभाबाट नगरी पछि आफैले गर्ने अड्डिमा रहेकाले विवाद बढ्दै गएको छ ।
आइतबारको नगरसभामा एमालेका जनप्रतिनिधिलाई हस्ताक्षर गर्न नदिई नगरप्रमुख रामकृष्ण खाँडले कोरम नपुगेको भन्दै बैठक स्थगित भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले नाराबाजी गरेका थिए । बैठकमा सहभागी जनप्रतिनिधिलाई हाजिर गर्न नदिई कांग्रेसको बैठकमा बसेको भन्दै प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको विरोध गरेका एमालेका जनप्रतिनिधि तर्साउन नगर प्रमु खाँडले प्रहरी लगाएर धरपकट गरेको भन्दै विरोध गरेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले वडा नं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्री केसीलाई कार्यक्रम भएको मणिग्राम पार्टी प्यालेसको पौडीपोखरीलाई धकेलेर डुबाएपछि विवादले धर्को रुप लिएको छ । एमालेका जनप्रतितिनिधिले गृहमन्त्री बालकृष्ण खाँडको आडमा मेयर रामकृष्ण खाँडले प्रहरी प्रशासनको दुरुपयोग गरेको, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली कांग्रेसको कार्यकर्ता बनेर नगरपालिकालाई पार्टी कार्यालयजस्तै बनाएको र खाँडकै योजनामा बुटवल आएका डिएसपी केसीले जनप्रतिनिधिमाथि दुव्र्यवहार गरेको गम्भीर आरोप लगाउँदै एमालेले विरोध गरिरहेको दावी गरेको छ ।
बर्दीमा रहेका डिएसपी ठगबहादुर केसीले कांग्रेस नेताहरुको निर्देशनमा वडाध्यक्षसहितका जनप्रतिनिधिमाथि गरेको अभद्र व्यवहारको एमाले निकट विभिन्न संगठनहरुले विरोद गरिरहेका छन् । एमाले प्रदेश कमिटी सदस्य तथा नगर प्रमुखका प्रत्यासी मोहन चापागाईले अधिकारको दुरुपयोग गरी जनप्रतिनिधिमाथि जाइलागेका डिएसपी केसीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइने र गृहमन्त्रीको आडमा गरिएका शक्तिको दुरुपयोगलाई निस्तेज पार्ने विरोध कार्यक्रम गराई अपराधिक काममा संलग्नलाई कारबाही गराएरै छाडेने दावी गरेका छन् ।