अर्घाखाँची । प्रतिनिधि सभा निर्वाचन–२०८२ मा ऐतिहासिक मतसहित विजय हासिल गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले जिल्लावासी मतदाताप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
रास्वपा अर्घाखाँचीका निर्वाचन परिचालन मूल समितिका संयोजक दिनेश सुनार (विकल्प) ले एक वक्तव्य जारी गर्दै प्रत्यक्षतर्फ ३५ हजार २३ र समानुपातिकतर्फ ३९ हजार ८५ मत प्रदान गरी पार्टीलाई ऐतिहासिक सफलता दिलाएकोमा अर्घाखाँचीवासी आम मतदाता, शुभेच्छुक तथा समर्थकहरूप्रति आभार व्यक्त गरेका हुन्।
उनले निर्वाचन अभियानको सुरुवातदेखि अन्तिम मत परिणामसम्म निरन्तर खटिएर सहयोग गर्ने पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका स्तरका नेतृत्व, निर्वाचन कमाण्डर, सदस्य, टोल तथा मतदान केन्द्रमा सक्रिय कार्यकर्ता, देश–विदेशमा रहेका पार्टी सदस्य तथा शुभेच्छुकप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।
यस्तै विभिन्न विभाग तथा सम्पर्क समितिका सदस्य, स्वयंसेवक (RAT), निर्वाचन परिचालन समितिका सदस्य, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मी तथा निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारीहरूप्रति पनि उनले कृतज्ञता प्रकट गरेका छन्।
वक्तव्यमा लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन निर्वाचनमा सहभागी भई आफ्ना विचार र मत अभिव्यक्त गर्ने अन्य राजनीतिक दलका उम्मेदवार तथा समर्थकप्रति पनि सम्मान व्यक्त गरिएको छ।
रास्वपाले अर्घाखाँचीको समग्र विकास, सुशासन, पारदर्शिता र समृद्ध भविष्य निर्माणका लागि जनताको अपेक्षा अनुसार इमान्दारिता, जिम्मेवारी र समर्पणका साथ काम गर्ने प्रतिबद्धता पनि जनाएको छ। साथै मतदाताले दिएको विश्वासलाई सदैव सम्मान गर्दै जनताको हितमा निरन्तर कार्यरत रहने पार्टीको भनाइ छ।

