अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका कार्यालय सचिव लिला बरालले पार्टीलाई जितमा मात्र होइन, हारको समयमा पनि साथ दिने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले साँचो साथ कठिन समयमा देखिने बताएका हुन्।
बरालले जितको समयमा धेरै मानिसहरू बधाई, फूलका गुच्छा र फोटो खिच्ने उत्साहका साथ नजिकिने तर हारको बेला ती अनुहारहरू टाढा हुने गरेको उल्लेख गरे। “जितको घाम लागेको बेला छायाँ पनि साथ दिन्छ, तर हारको बादल लाग्दा त्यो छायाँ पनि हराउँछ” उनले लेखेका छन्।
उनका अनुसार हार अन्त्य होइन, संघर्षको अर्को अध्याय हो। आजको हारले भोलिको जितको बाटो देखाउने उल्लेख गर्दै उनले राजनीति उकालो–ओरालोको यात्राजस्तै भएको बताए। “कहिले ताली, कहिले आलोचना हुन्छ, तर जसले कठिन समयमा पनि पार्टी र सिद्धान्त छोड्दैन, उही साँचो समर्थक हो” उनले भने।
बरालले जित्दा सबैले “हामीले जित्यौँ” भन्ने तर हार्दा धेरैले “उनीहरू हारे” भन्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै आफू भने त्यस भीडको हिस्सा नभएको बताए। “हारको बेला पनि म भन्छु—हामी अझै लडिरहेका छौँ, हाम्रो विश्वास अझै जिउँदै छ” उनले उल्लेख गरेका छन्।
उनले विचार र संघर्ष कहिल्यै नहार्ने, समयले मात्र परीक्षा लिने विश्वास व्यक्त गर्दै पार्टीप्रति आफ्नो प्रतिबद्धता संजाल मार्फत दोहोर्याएका हुन् ।
उनले लेखेको :
“म एमाले पार्टीलाई जितमा भन्दा हारमा साथ दिन्छु।✊
किनकि जित्दा त सबै जना आउँछन्—फूलका गुच्छा लिएर, बधाईका शब्द बोकेर, फोटो खिच्न आतुर भएर। जितको घाम लागेको बेला त छायाँ पनि साथ दिन्छ, अनि धेरै “साथी”हरू अचानक नजिकिन्छन्। तर हारको बादल लाग्दा त्यो छायाँ पनि हराउँछ, धेरै अनुहारहरू टाढा हुन्छन्, अनि साँचो साथ दिनेहरू मात्रै बाँकी रहन्छन्।
त्यसैले म हारको बेला उभिन्छु।
किनकि हार भनेको अन्त्य होइन, त्यो त संघर्षको अर्को अध्याय हो। आजको हारले भोलिको जितको बाटो देखाउँछ। राजनीति भनेको कहिले उकालो, कहिले ओरालो; कहिले ताली, कहिले आलोचना। तर जसले कठिन समयमै पार्टी र सिद्धान्त छोड्दैन, उही साँचो समर्थक हो।
जित्दा त सबैले “हामीले जित्यौँ” भन्छन्, तर हार्दा धेरैले “उनीहरू हारे” भन्छन्।
म भने त्यो भीडको हिस्सा होइन।
हारको बेला पनि म भन्छु—
“हामी अझै लडिरहेका छौँ, हाम्रो विश्वास अझै जिउँदै छ।”
किनकि विचार र संघर्ष कहिल्यै हार्दैनन्—समयले मात्र परीक्षा लिन्छ। ✊🌹
धन्यवाद ।
शुभरात्री,
२४ फागुन २०८२ “

