अर्घाखाँची । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीका केन्द्रीय सदस्य ठाकुर कुमार विक (किशोर)ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा पार्टीका तर्फबाट मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्।
नेकपाका तर्फबाट अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा केन्द्रीय सदस्य रामबहादुर चौहान चुनावी प्रतिस्पर्धामा सहभागी भएको उल्लेख गर्दै विकले अपेक्षित नतिजा प्राप्त नभए पनि पार्टीप्रति विश्वास गरेर ‘तारा’ चुनाव चिन्हमा अमूल्य मत प्रदान गर्ने सबै मतदातालाई धन्यवाद दिएका हुन्।
उनले चुनावी अभियानका क्रममा अहोरात्र खटिने पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति हार्दिक आभार व्यक्त गरे।
विकले निर्वाचनको परिणामलाई आत्मसमीक्षा गर्दै समयअनुकूल रुपान्तरणका साथ आगामी दिनमा अझ जिम्मेवारीपूर्वक जनअपेक्षाअनुसार सेवा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। अर्घाखाँचीको समग्र विकास र समृद्धिको यात्रामा पार्टी दृढतापूर्वक लाग्ने उनले बताए।
उनका अनुसार राष्ट्रिय राजनीतिको प्रभावबाट अर्घाखाँची पनि अछुतो रहन नसकेको उल्लेख गर्दै हारभित्र पनि जितको सम्भावना खोज्दै पार्टीलाई नयाँ उचाइमा पुर्याउने संकल्पका साथ क्रियाशील हुन उनले पार्टी पंक्तिलाई आग्रह गरेका छन्।
त्यस्तै, यस निर्वाचनबाट अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हरि प्रसाद भुसाललाई उनले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
साथै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भूमिका निर्वाह गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार तथा सम्पूर्ण जिल्लाबासीप्रति पनि उनले धन्यवाद ज्ञापन गरेका हुन् ।

