अर्घाखाँची । नेकपा एमाले उम्मेदवार पीताम्बर भुसालले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भुसालले सामाजिक सञ्जालमार्फत जिल्ला र देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिएका हुन्।
उनले निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सरकार, निर्वाचन आयोग नेपाल, मतदानमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीप्रति आभार व्यक्त गरेका छन्। साथै निर्वाचन अभियानमा सक्रिय पार्टीका कार्यकर्ता, प्रतिनिधि तथा सहयोगी सबैलाई पनि धन्यवाद दिएका हुन् ।
भुसालले आफ्नो सन्देशमा भनेका छन्–
“प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा लोकतन्त्रको महोत्सवमा उत्साहपूर्वक सहभागी भई मतदान गर्नुहुने सम्पूर्ण मतदाता महानुभावहरू तथा यस अभियानमा साथ, सहयोग र सद्भाव दिनुहुने सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। तपाईंहरूको माया, विश्वास र समर्थनले सकारात्मक परिणाम आउने दृढ विश्वास दिलाएको छ। यही भरोसालाई साथ लिएर जनताको सेवा र विकासका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु। तपाईंहरूको साथले विजय सुनिश्चित हुने विश्वासका साथ हार्दिक धन्यवाद! 🙏”

