काठमाडौं । कालीकोटको पलाँता गाउँपालिकामा विभिन्न दल त्याग्दै ३सय २५ जना नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।
आइतबार आयोजित विशेष कार्यक्रममा वडा नं. २ का उक्त संख्या बराबर कार्यकर्ता औपचारिक रूपमा एमालेमा समाहित भएका हुन्।उनीहरूलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार नगेन्द्र शाहीले खादा–माला लगाएर स्वागत गरेका थिए। प्रवेश गर्नेहरूमा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सदस्य नवराज सिंह, दन्त बम, उद्योग व्यापार संघका केन्द्रीय सदस्य नवराज बुढा, जिल्ला सदस्य कुशराज प्याकुरेल, नेपाली कांग्रेसका सुरबहादुर बम र ब्रिखलाल प्याकुरेल, साथै नयाँ शक्ति पार्टीका अर्जुन बम लगायत रहेका छन्।
स्वागत मन्तव्यमा शाहीले समृद्धि, सुशासन र विकासका एजेन्डामा एमाले सधैं अग्रणी रहेको दाबी गर्दै संगठन बलियो बनाउन सामूहिक साथ आवश्यक रहेको बताए। उनले पलाँता क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना र सेवा प्रवाह सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
नवप्रवेशीहरूले शाहीलाई जिल्लाकै प्रभावशाली नेतृत्वका रूपमा प्रस्तुत गर्दै उनलाई भारी मतले विजयी गराउने अभियानमा एकजुट हुने घोषणा गरेका छन्।
यता चुनावी अभियानलाई तीव्र बनाउँदै शाहीले मतदाता भेटघाट, संगठन परिचालन र जनसम्पर्कलाई समानान्तर रूपमा अघि बढाएका छन्। प्रदेश कमिटी सदस्य लक्ष्मण बमका अनुसार वडा नं. ९ मा आयोजित अर्को कार्यक्रममा समेत नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेश सदस्य दन्त बमसहित ८ जना एमालेमा प्रवेश गरेका छन्।

