अर्घाखाँचीका चार दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा, मालारानीमा निर्णायक भिडन्त
अर्घाखाँची । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर जिल्लाभर चुनावी गतिविधि तीव्र बनेको छ। उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो र सभा–समारोहमा व्यस्त छन्। कसरी हुन्छ मतदाता आफ्नो पक्षमा पार्ने भन्ने होडबाजी चलिरहेको स्थानीयले बताएका हुन् । राजनीतिक दलहरूले प्रचारलाई तीव्र बनाउँदै चुनावी वातावरण थप तातेको छ।
जिल्लामा ६ पालिका मध्य विशेषगरी मालारानी क्षेत्र यसपटक प्रतिस्पर्धाको केन्द्र बनेको छ, जहाँ प्रमुख दलका उम्मेदवारबीच कडा टक्कर हुने संकेत देखिएको छ। यस निर्वाचनमा नेकपा एमालेबाट पिताम्बर भुसाल, नेपाली काँग्रेसबाट विष्णु प्रसाद खनाल, नेपाल कम्युनिष्ट पार्टीबाट रामबहादुर चौहान र रास्वपा बाट हरि प्रसाद भुसाल चुनावी मैदानमा छन्। चारमध्ये तीन उम्मेदवार मालारानीकै भएकाले स्थानीय प्रतिस्पर्धा थप रोचक र संवेदनशील बनेको हो ।
२०६४ यता लगातार निर्वाचित हुँदै आएका टोपबहादुर रायमाझी यसपटक चुनावमा सहभागी नभएकाले निर्वाचन परिणाम अनुमान गर्न कठिन भएको विश्लेषण गरिएको छ। जिल्लामा लामो समय प्रभावशाली मानिएका रायमाझीको अनुपस्थितिले मतदाताको ध्रुवीकरण कसरी हुन्छ भन्ने विषय अहिले सबै दलका लागि चासोको विषय बनेको छ।
निर्वाचन आयोगका अनुसार जिल्लामा १ लाख ७१ हजार ६ सय ५२ मतदाता र २०९ मतदान केन्द्र रहेका छन्। मतदाता संख्या, भौगोलिक विविधता र स्थानीय मुद्दाको फरक प्राथमिकताले चुनावी गणित जटिल बन्ने देखिएको छ।
२०७९ को निर्वाचन परिणामले पनि यहाँ प्रतिस्पर्धा सधैं कडा हुने देखाएको थियो। उक्त चुनावमा रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याएर जित हासिल गरेका थिए भने काँग्रेसकी पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत ल्याएर दोस्रो स्थान हासिल गरेकी थिइन्। त्यतिबेला रास्वपाका उम्मेदवार हरि प्रसाद भुसालले ३ हजार २ सय मत पाएका थिए जसले साना मतसमेत निर्णायक हुन सक्ने संकेत दिएको छ ।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार अर्घाखाँचीको मतदाता प्रवृत्ति स्थिरभन्दा परिस्थितिअनुसार परिवर्तन हुने खालको छ। उम्मेदवारको व्यक्तिगत छवि, स्थानीय विकासप्रतिको प्रतिबद्धता, पार्टीको संगठन शक्ति र राष्ट्रिय राजनीतिक वातावरण—यी सबै तत्वले अन्तिम परिणाम निर्धारण गर्ने बताइन्छ। विशेषगरी युवा मतदाताको सक्रियता यसपटक निर्णायक बन्न सक्ने अनुमान गरिएको छ।
त्यसैगरी मालारानीमा साना दल र स्वतन्त्र उम्मेदवारको मत बाँडफाँटले ठूला दलको जित–हारमा प्रभाव पार्ने सम्भावना रहेको छ। विगतका निर्वाचनमा थोरै मतान्तरले परिणाम उल्टिएको उदाहरण रहेकाले दलहरू अन्तिम समयसम्म मत सुरक्षित गर्न रणनीति बनाइरहेका छन्।
चुनावी माहोल तीव्र बन्दै जाँदा जिल्लाभर राजनीतिक चहलपहल बढेको छ। गाउँ–बस्तीमा सभा, कोणसभा, घरदैलो कार्यक्रम र सामाजिक सञ्जाल प्रचार एकैसाथ चलिरहेका छन्। मतदाताले भने उम्मेदवारको वाचा भन्दा कामको मूल्याङ्कन गरेर निर्णय गर्ने संकेत दिएको बताइन् छ।
यसपटकको निर्वाचनले अर्घाखाँचीको राजनीतिक दिशामात्र होइन, राष्ट्रिय शक्ति सन्तुलनमा समेत सन्देश दिने विश्लेषण गरिएको छ। त्यसैले मालारानी केन्द्रित प्रतिस्पर्धालाई धेरैले “निर्णायक भिडन्त” का रूपमा हेर्न थालेका हुन् ।

