अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रचारसभामा सहभागी भएका छन्।
शुक्रबार गुल्मीबाट अर्घाखाँची आइपुगेका लामिछानेले युवाहरूको आन्दोलन खेर नजाने स्पष्ट पारेका छन्। उनले भने “अबको चुनाव जनताको आशा र भरोसाको परीक्षा हो। अर्घाखाँचीले यसपटक विकास, सुशासन र पारदर्शितामा स्पष्ट सन्देश दिन सक्ने सम्भावना बलियो छ । ” प्रचारप्रसार सभामा युवाहरूको बाक्लो उपस्थिति देखिएको थियो भने महिला तथा जेष्ठ नागरिकको पनि उल्लेख्य सहभागिता रहेको थियो।
लामिछानेले युवालाई स्वदेशमै अवसर सिर्जना गर्न, कृषि उत्पादनलाई बजारसँग जोड्न, साना र मझौला उद्यमलाई प्रोत्साहन गर्न र सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे। वैदेशिक रोजगारीका कारण गाउँ खाली हुँदै गएको अवस्थाप्रति उनले चिन्ता व्यक्त गर्दै युवालाई देशमै सम्भावना खोज्न आग्रह गरेका थिए।
कार्यक्रममा स्थानीयवासीहरूले सडक स्तरोन्नति, खानेपानीको समस्या, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार र कृषि क्षेत्रमा आवश्यक सहयोगबारे गुनासा राखेका थिए। लामिछानेले ती समस्यालाई चुनावपछि प्राथमिकताका साथ उठाउने प्रतिवद्धता जनाएका हुन् ।

