काठमाडौं । रोल्पामा निर्वाचन प्रहरीमाथि ‘गुरुबा’ अर्थात् तालिम प्रशिक्षकहरूले अस्पतालसम्म पुग्ने गरी कुटपिट गरेको घटना बाहिरिएको छ ।
गएको सोमबार घटेको उक्त घटनालाई प्रहरीले गुपचुपमा मिलाए पनि अन्ततः घटनाको वास्तविकता बाहिरिएको छ । प्रशिक्षणका लागि खटाइएका जनपद प्रहरीले जथाभावी लाठी प्रहार गर्दा १०४ जना निर्वाचन प्रहरी घाइते भएका छन् ।
जसमध्ये १६ जना रोल्पा अस्पताल रेउघामा भर्ना भएको र उपचारपश्चात् डिस्चार्ज गरिएको उपचारमा संलग्न रोल्पा अस्पतालका चिकित्सक डा. नीरज घर्तीमगरले जानकारी दिए । उनका अनुसार तीनजनाको एक्सरे गरिएको थियो भने धेरैजसोको ढाडमा र एकजनाको पुट्ठामा नीलडाम बसेको थियो ।
लाठी प्रहारको क्रममा केहीको मोबाइल फुटेको नाम नबताउने सर्तमा एक निर्वाचन प्रहरीले बताएका छन् ।

