काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णयतर्फ अघि बढेको छ।
अन्य दलहरूसँग तालमेलको सम्भावना न्यून बन्दै गएपछि एमालेले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार मैदानमा उतार्ने गरी तयारी तीव्र पारेको हो।
उम्मेदवारको अन्तिम टुंगो लगाउन पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सचिवालयको बैठक जारी छ। दिउँसो २ बजे सुरु भएको बैठकमा तल्ला कमिटीहरूबाट सिफारिस भएर आएका नामहरूमाथि विस्तृत छलफल भइरहेको छ। पार्टी स्रोतका अनुसार हालसम्म कुनै पनि दलसँग औपचारिक वा अनौपचारिक रूपमा चुनावी गठबन्धनबारे सहमति जुट्न सकेको छैन। निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने समयसीमा नजिकिँदै जाँदा गठबन्धनको सम्भावना झनै कमजोर बनेको एमालेको निष्कर्ष छ।
यसै कारण एमालेले सबै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न ‘सूर्य’ लिएर प्रतिस्पर्धा गर्ने तयारी गरेको हो। उम्मेदवार छनोटका लागि निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले यसअघि नै सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा पठाइसकेका छन्। अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना शीर्ष नेताहरूको नाम सर्वसम्मत रूपमा सिफारिस भएर आएको बताइएको छ।
बाँकी क्षेत्रहरूमा प्राप्त सिफारिसहरूमध्ये जित्ने सम्भावना, जनसमर्थन र संगठनात्मक अवस्थालाई आधार मानेर सचिवालय बैठकले आजै उम्मेदवारको अन्तिम निर्णय गर्ने तयारी गरेको छ।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटको सम्पूर्ण अधिकार सचिवालयलाई दिएको थियो।

