अर्घाखाँची । सुपादेउराली मन्दिरको विषयलाई लिएर सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चुरा के.सीले स्पष्ट र कडा धारणा सार्वजनिक गरेका छन्। उनले धार्मिक आस्थामाथि हुने कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन् ।
वडा अध्यक्ष के.सीले सुपादेउराली मन्दिर कुनै एक व्यक्ति, समूह वा संस्थाको नभई सम्पूर्ण श्रद्धालु र समुदायको साझा आस्थाको केन्द्र भएको उल्लेख गर्दै मन्दिरमाथि खेलवाड सह्य नहुने चेतावनी दिए। “सुपादेउराली मन्दिर सबैको हो। यसको धार्मिक महत्व र आस्थामाथि आँच आउने गरी हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन” उनले भने।
उनले मन्दिर सञ्चालन र व्यवस्थापनको नाममा भइरहेको कु–प्रचारप्रति पनि गम्भीर आपत्ति जनाएका छन्। अध्यक्ष के.सीका अनुसार तथ्यहीन आरोप, भ्रम फैलाउने प्रयास र अनावश्यक हस्तक्षेपले धार्मिक सद्भावमा असर पार्ने खतरा छ। “ केहि युटुवर अराजक व्यक्तिले गरेको कुनै पनि प्रकारको कु–प्रचार र हस्तक्षेप म स्वीकार्दिनँ। आवश्यकता परे जुनसुकै चुनौती सामना गर्न तयार छु” उनको भनाइ छ।
वडा अध्यक्षले स्थानीय सरकारको नाममा मन्दिरको धार्मिक स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजिए त्यसलाई मान्य नहुने स्पष्ट पारे। उनले सुपादेउराली मन्दिरप्रति सबै पक्ष जिम्मेवार, संवेदनशील र संयमित हुनुपर्नेमा जोड दिँदै धार्मिक स्थलमा पार्किङ स्थल लगायतका समस्या समाधान गर्नुपर्ने बताउदै राजनीतिक स्वार्थको अखडा नबनाउन आग्रह गरेका छन्।
सुपादेउराली मन्दिर अर्घाखाँचीको मात्र नभई देशकै महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा परिचित छ। पछिल्लो समय मन्दिरको स्वामित्व, व्यवस्थापन र अधिकार क्षेत्रलाई लिएर सामाजिक संजालमा बहस चर्कँदै गएपछि सन्धिखर्क नगरपालिकाले पत्र सार्वजनिक गरेको थियो ।

