गिताराम बिष्ट ,अर्घाखाँची- हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला महिला विभाग तथा मालारानी गाउँपालिका कार्य समितिको आयोजनामा श्री बालशिक्षा माध्यमिक विद्यालय, कमेरपानीमा तीज विशेष शुभकामना आदान–प्रदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
महिला दिदीबहिनीहरूबीच माया, ममता र एकता प्रगाढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। बालबालिकाको भविष्य निर्माणमा केही सहयोग पुगोस भन्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको आयोजकहरूले बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिव कमल पछाइले संगठन सधैं विद्यार्थी, शिक्षक र अभिभावकहरूको हकहितमा हातेमालो गर्दै अघि बढ्ने बताएका थिए। उनले हरितालिका तीजले सबै नारीबीच मेलमिलाप र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए।
त्यसैगरी मालारानी गाउँपालिका शिक्षक संगठनका अध्यक्ष कृष्णप्रसाद पौडेलले नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँची जिल्लाको पहिलो संगठन भएको बताउँदै विद्यार्थी, शिक्षक र कर्मचारीहरूको हकअधिकारका लागि निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे। उनले संगठनले गरेका विभिन्न कार्यक्रमहरूको समिक्षा पनि गरेका थिए।
कार्यक्रममा संगठनका राष्ट्रिय महाधिवेशन प्रतिनिधि खिमानन्द खनाल, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सदस्य गिताराम बिष्ट, मालारानी गाउँपालिका वडा नं. ८ का वडा सदस्य नेत्र बिक, जिल्ला कार्य समिति महिला विभाग सदस्य मेनका खनाल, बिमला घिमिरे, गाउँपालिका उपाध्यक्ष रामबहादुर खड्का, सुनकला थापा, मोहन भुसाल, अजय भुसाल, खुमबहादुर खड्का, राजेन्द्र पन्थी, राधा भुसाल, साबित्रा बिक, नन्दराम खनाल, निर्मला पोख्रेल, बि.व्य.स. अध्यक्ष हुमलाल पाण्डे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बिमला घिमिरेले स्वागत मन्तव्य दिएकी थिइन् भने सुनकला थापाले सञ्चालन गरेकी थिइन्। अध्यक्षता कृष्णप्रसाद पौडेलले गरेका थिए।