अर्घाखाँची – सन्धिखर्कस्थित ओम पोलिक्लिनिकमा दैनिक रूपमा एम.डी. जनरल प्राक्टिस चिकित्सक डा. खगेन्द्र आचार्यद्वारा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ। यससँगै जिल्लाबासीलाई विभिन्न रोगहरूको उपचार र परामर्शका लागि बाहिर धाउनुपर्ने बाध्यता घट्ने भएको छ।
पोलिक्लिनिकका अनुसार डा. आचार्यले मधुमेह (सुगर) परीक्षण तथा परामर्श, रक्तचाप (प्रेसर) नियन्त्रण सम्बन्धी सेवा, मुटु रोगसम्बन्धी जाँच, दम तथा स्वासप्रश्वाससम्बन्धी समस्या उपचार, भिडियो एक्स–रे, गर्भवती महिलाको स्वास्थ्य परीक्षण, हाडजोर्नी तथा नसारोग जाँच, सामान्य चिरफार तथा प्लास्टर सेवा लगायतका सुविधा प्रदान गर्नेछन्। साथै अन्य नियमित स्वास्थ्य परीक्षण तथा उपचार सेवा पनि निरन्तर उपलब्ध हुने पोलिक्लिनिकले जनाएको छ।
मालारानी-५ बाँगीका डा. खगेन्द्र आचार्य विगतका वर्षहरूदेखि जिल्लाका विभिन्न स्थानमा सेवा प्रदान गर्दै आएका एक अनुभवी डाक्टर हुन्। उनले ग्रामीण र शहरी दुबै क्षेत्रका बिरामीहरूको उपचारमा आफ्नो समर्पण देखाउँदै जनस्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। उनको विश्वास छ कि, “स्वास्थ्य सेवा सबैका लागि सुलभ र गुणस्तरीय हुनु आवश्यक छ।”
ओम पोलिक्लिनिकका व्यवस्थापन पक्षले स्थानीय समुदायको विश्वास र भरोसाले नै सेवा विस्तार गर्न प्रेरित भएको उल्लेख गर्दै, “तपाईंहरूको स्वास्थ्य हाम्रो प्राथमिकता हो, सधैं तपाईंहरूको सेवामा समर्पित रहन्छौं,” भन्ने प्रतिबद्धता व्यक्त गरेको छ।
स्थानीय स्वास्थ्य सुविधामा विशेषज्ञ सेवा थपिनु जिल्लाबासीका लागि ठूलो राहत हुने अपेक्षा गरिएको छ। विशेषगरी मुटु, मधुमेह, स्वासप्रश्वास तथा हाडजोर्नीसम्बन्धी बिरामीहरूका लागि यसले सहज उपचार पहुँच सुनिश्चित गर्ने पोलिक्लिनिकको भनाइ छ।