काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर आफूलाई सदस्यता नवीकरणमा “प्रतिबन्ध” लगाएपछि पूर्वराष्ट्रपति विद्या भण्डारीले “काउन्टर”को तयारी गरेकी छन्। उनले शुक्रबार पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन्।
भण्डारीले अपराह्न ३ बजे पत्रकार सम्मेलन राखेकी छन्। सोही सम्मेलनबाट आफ्नो आगामी कदमबारे थप प्रस्ट पार्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ।
भण्डारीनिकट एक नेताले शुक्रबारको पत्रकार सम्मेलनमा धेरै विषय स्पष्ट हुने बताए। भण्डारीले पछि नहट्ने अडान कायम राखेको उनको भनाइ छ।
गत मंगलबार दिउँसो पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले आफू राजनीतिमा अगाडि बढिसकेकाले पछि नहट्ने र कदम अघि बढाउन खुट्टा नकमाउने बताएकी थिइन्। त्यसको केही घण्टामा एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सदस्यता प्रदान नगर्ने निर्णय लिएको थयो। त्यसै दिन दिउँसो पत्रकारहरूसँगको भेटमा भण्डारीले आफू राजनीतिमा अगाडि बढिसकेकाले पछि नहट्ने बताएकी थिइन्।
त्यसको भोलिपल्ट बुधबार निकटस्थ नेतासँग परामर्श गरेकी भण्डारीले आफूसँग केही सोचाइहरू रहेको भन्दै त्यसलाई केही दिनभित्र सार्वजनिक गर्ने बताएकी थिइन्। ‘मसँग ब्याकअप नै छैन भन्ने होइन। म ब्याकअप विना बसेकी छैन। मलाई एक–दुईवटा जरुरी भ्याउनैपर्ने केही काम सक्न दिनुस्। म केही दिनमै बोल्छु,’ उनको भनाइ थियो। एमालेले भण्डारीलाई सदस्यता नदिने भएसँगै अब भण्डारी के गर्लिन् भन्ने चासो बढेको छ।
विद्यालाई सदस्यता नदिने एमाले केन्द्रीय कमिटीका निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा नेता कर्ण थापाले असहमति राखेका थिए।
विधान महाधिवेशनमा आफूपक्षका नेताहरुमार्फत फरक प्रस्ताव लैजानका लागि भूमिका खेल्ने विकल्प विद्यासँग छ।
यस्तै केन्द्रीय कमिटीको निर्णय ‘असंवैधानिक र गैरकानुनी’ रहेको दाबीसहित अदालतबाट कानुनी उपचार खोज्ने विकल्प पनि छ। तर कुन व्यक्तिलाई सदस्यता दिन र कुन व्यक्तिलाई सदस्यता प्रदान नगर्ने भन्ने कुरा सम्बन्धित दलकै क्षेत्रकारधिकार पनि हो।
अब महाधिवेशनमा ओलीलाई काउन्टर दिने गरी अर्को नेताको नेतृत्वमा टिम नै खडा गर्ने विकल्प पनि विद्यासँग छ। महाधिवेशनमा आफू पक्षका नेताहरूलाई विजयी बनाएर आफूलाई एमाले राजनीतिमा सक्रिय हुन रोक्ने निर्णय उल्ट्याउने विकल्प पनि उनीसँग छ। छुट्टै पार्टी बनाउने विकल्प पनि उनीसँग छ।
यीमध्ये कुन विकल्प रोज्छिन् भन्ने कुरा शुक्रवार दिउँसोको पत्रकार सम्मेलनबाट संकेत गर्न सक्ने मानिएको छ।