अर्घाखाँची, साउन ६ ।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिकामा आयोजित एक विशेष कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।
राजनीतिक दृष्टिले महत्वपूर्ण मानिने चिदिकामा आयोजित कार्यक्रममा
नेपाली काङ्ग्रेस पालिका सदस्य जमिर मिया र माओवादीका फजिर मिया लगायत २५ जना व्यक्तिहरु लाई पार्टी जिल्ला अध्यक्ष पीताम्बर भुसालले नवप्रवेशीहरूलाई नेकपा एमाले पार्टीमा टीका र खादा लगाई स्वागत गरेका हुन्।
कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष भुसालले पार्टीमा प्रवेश गर्ने सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई एमालेको सिद्धान्त, संगठन र राष्ट्रहितका मुद्दामा समर्पित भएर क्रियाशील बन्न आग्रह गरे। उनले भने, “देश र जनताको पक्षमा दृढताका साथ उभिन सक्ने एक मात्र पार्टी एमाले हो। आज यहाँ देखिएको उत्साहले आगामी दिनमा पार्टीलाई अझ मजबुत बनाउने छ।”
पार्टी प्रवेश गरेका अधिकांश व्यक्तिहरू आफ्नो राजनीतिक यात्रामा अब नेकपा एमाले नै उपयुक्त विकल्प भएको ठहर गर्दै पार्टी रोजेको बताएका छन्।
कार्यक्रममा एमाले स्थानीय महिला तथा युवा नेताहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।
नवप्रवेशी माओवादीका फजिर मियाले बोल्दै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउँदै भने, “हामी परिवर्तन र स्थायीत्वका लागि एमालेमा आएका हौं। अब जनताको विश्वास जित्ने गरी पार्टीका नीति तथा कार्यक्रमलाई गाउँ–गाउँमा लैजान काम गर्नेछौं।”
छत्रदेवको चिदिकामा एमालेप्रति बढ्दो आकर्षणसँगै अब स्थानीय राजनीतिक समिकरणमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ।