काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्कन सक्ने चर्चा चुलिँदै गर्दा नेकपा (एमाले) ले उनको पार्टी सदस्यता तत्कालका लागि नवीकरण नगर्ने निर्णय गरेको छ।
शनिबार बसेको पोलिटब्युरो बैठकपछिको जानकारी दिँदै पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता नवीकरण ‘होल्ड’ गरिएको जानकारी दिए। उनका अनुसार भण्डारीले राष्ट्रपतिमा नियुक्त हुनु अघि पार्टी सदस्यता परित्याग गरेकी थिइन्, जसले पुनः सदस्यता दिनु अघि स्पष्ट नीतिगत निर्णय आवश्यक बनाएको छ।
गौतमले भने, “पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हाल पेन्डिङमा छ। त्यो प्रक्रिया अहिले स्थगन अवस्थामा छ।”
भण्डारीले सक्रिय राजनीतिमा फिर्ता हुने संकेत दिएसँगै एमालेभित्र यस विषयमा बहस तीव्र बनेको छ। पार्टीले यसबारे आन्तरिक छलफल गरिरहेको जनाएको छ। गौतमका अनुसार, “स्वेच्छाले पार्टी छोडेका व्यक्ति पुनः प्रवेशका लागि कसरी अगाडि बढ्ने भन्नेबारे गम्भीर छलफल भइरहेको छ।”
एमालेले तत्काल कुनै निष्कर्ष निकालिसकेको छैन, तर स्रोतका अनुसार पार्टीभित्र दुई धारणा देखिएका छन् — केही नेता भण्डारीको पुनः आगमनलाई स्वागतयोग्य मानिरहेका छन् भने अन्यले पूर्वराष्ट्रपतिको हैसियतमा ‘राजनीतिक विश्राम’ उपयुक्त हुने धारणा राखिरहेका छन्।
भण्डारी स्वयंले औपचारिक रूपमा सक्रिय राजनीतिमा फर्कने घोषणा नगरे पनि उनका पछिल्ला गतिविधिहरूले राजनीति पुनः प्रवेशको संकेत गरेका छन्।