काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सत्तारूढ गठबन्धनलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
भूमि विधेयकप्रति असन्तुष्टि जनाउँदै आएको जसपाले सभामुख देवराज घिमिरेलाई औपचारिक जानकारी गराइसकेको छ।
हालै उपेन्द्र यादवसहितका नेताहरूले बालुवाटारमा सत्तारूढ कांग्रेस–एमाले नेतासँग छलफल गरेपछि जसपा सरकारमा सहभागी हुने चर्चा चलेको थियो। तर निर्णय उल्टिएको छ।
प्रतिनिधिसभामा बहुमत रहेको सत्तारूढ गठबन्धनलाई राष्ट्रियसभामा भने तीन सिट कम छन्। जसपाको समर्थनले बहुमत पुग्ने अपेक्षा गरिएको थियो। यसअघि नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन फिर्ता लिइसकेको छ।