गौमुखी ,प्युठान ।
क्यानडाको सपना बोकेर घरबाट निस्किएका पदम केसी आज आफ्नै गाउँमा आत्मनिर्भरताको उदाहरण बनेका छन्। १२ वर्षअघि दलालको झुटा भरोसामा परेर लाखौँ रुपैयाँ गुमाएका गौमुखी गाउँपालिका–६ लिवाङका ३२ वर्षीय केसीले जीवनको अर्थ नै फेरिदिए।
“सपना तुट्यो, तर सपना देख्न नसक्ने आत्मबल जाग्यो,” उनी सम्झन्छन्।
धोका खाएपछि केसीले केही समय शिक्षण पेशा र सरकारी ठेक्काको काम गरे। तर मन त कृषि र पशुपालनमै अड्किइरह्यो। २०७३ सालमा जम्मा ८० हजार रुपैयाँ लगानीबाट सुरु गरिएको बाख्रापालन र नर्सरी व्यवसाय आज ५० लाख नाघिसकेको छ।
उनले स्थापना गरेको ‘केसी बाख्रा तथा कृषि फर्म’ मा अहिले बोयर जातका ३५ बाख्रा छन्, जसमा १२ लाखको बीमा गरिएको छ। साथै, जडीबुटी, घाँस र फलफूलका १ लाखभन्दा बढी बिरुवा उत्पादन गर्दै आएका केसीले २०० वटा सुन्तलाका बिरुवा पनि रोपिसकेका छन्। उनका विरुवाहरूको माग प्युठानदेखि बाहिरी जिल्लासम्म फैलिएको छ।
“बाख्राबाट आम्दानी ठीकै छ, तर नर्सरीले भविष्य उज्यालो देखाएको छ,” केसी भन्छन्।
बुवा-आमा, श्रीमती मिठाकुमारी र दुई सन्तानसँगै कृषि पेसामा रमाइरहेका केसी तालिम, बजार व्यवस्थापन र सामाजिक समन्वयमा समेत अगाडि छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गौमुखी गाउँपालिकाको सहयोगले फर्म अझ व्यवस्थित बन्दै गएको छ।
ठगिएर पनि हार मानेनन् पदम केसीको कथा अहिले सयौँ युवाहरूका लागि प्रेरणा बनेको छ । अवसर खोज्न विदेश जानु मात्र विकल्प होइन, आफ्नै माटोमा पसिना बगाएर पनि सफलताको फसल उब्जिन सकिन्छ।

