काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिकैको होटलबाट सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिरहा नगरपालिका–८ का ४० वर्षीय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ का ४२ वर्षीय सामन यादव रहेका छन्।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको सूचनामा आधारित अपरेशनमा उनीहरूलाई दर्शन नमस्ते ईन होटलबाट लागुऔषध र तौल जोख्ने तराजु, मोबाइल, पासपोर्ट र १२ हजार १ सय ७५ रुपैयाँसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कालिदास धौबजीले जानकारी दिए।
पक्राउ परेकाहरूले धनुषाका विभिन्न स्थानबाट ब्राउनसुगर काठमाडौं ल्याई बिक्री गर्दै आएको खुल्न आएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।