काठमाडौं , असार ११ ।
सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सारिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएअनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो तर अब ३ बजेसम्मका लागि सारिएको हो ।
बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको पूर्वतयारी, संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुने एमाले नेताहरूले बताएका छन् । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरस्थित गोदावरीको सनराइज सम्मेलन केन्द्रमा हुँदैछ । त्यसकै तयारीका लागि आजको सचिवालय बैठक बस्न लागेको हो ।
महाधिवेशनलाई लक्षित गर्दै एमालेले विभिन्न तह र संगठनका बैठक तथा अभियानलाई तीव्रता दिइरहेको छ । अध्यक्ष ओली स्वयम् महाधिवेशनलाई पार्टी सुदृढीकरण र रणनीतिक दिशानिर्देशनको अवसरको रूपमा लिएको नेताहरूको भनाइ छ ।
बैठकमा समसामयिक राष्ट्रिय राजनीति, सत्ता गठबन्धनभित्रको समन्वय र आगामी रणनीतिबारे समेत छलफल हुने बताइएको छ ।