काठमाडौं ।
धादिङको थाक्रे गाउँपालिका–२, कमेरेभिरमा ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार साँझ करिब ६:३५ बजे लगातारको वर्षापछि सडक माथिबाट पहिरो खसेको हो।
अहिलेसम्म मानवीय क्षतिको जानकारी आएको छैन। तर, पहिरोका कारण दुवैतर्फ सवारी साधन रोकिएका छन्। पहिरो हटाउन डोजर लगायतको तयारी भइरहेको प्रहरीले जनाएको छ।
पृथ्वी राजमार्ग काठमाडौं जोड्ने मुख्य मार्ग भएकाले सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासी प्रभावित भएका छन्। सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सडक खुलाउने प्रयास जारी छ।