अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा सवारी चालक तथा सहचालकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै “ट्राफिक सचेतना” कार्यक्रम अन्तर्गत विशेष आँखा तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरिएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालिकाको सहयोगमा सोमवार नरपानीमा उक्त शिविर सञ्चालन गरिएको हो। सन्धिखर्क–गोरुसिंगे सडकखण्डमा चल्ने सवारी चालकहरूलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
शिविरमा झण्डै १५० जना चालक तथा सहचालकहरूले आँखा चेकजाँच र स्वास्थ्य परीक्षण गराएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरज गौतमका अनुसार स्वास्थ्यकर्मीहरूको टोलीले आँखा, रक्तचाप लगायतका सामान्य स्वास्थ्य परीक्षण गरेको थियो।
परीक्षणको क्रममा ७ जना चालकमा आँखा सम्बन्धी समस्या र ४ जनामा उच्च रक्तचापको समस्या देखिएको गौतमले बताए। स्वास्थ्य समस्या देखिएकाहरुलाई थप उपचार र परामर्शका लागि स्वास्थ्यकर्मीले सुझाव दिएका हुन।
प्रहरी प्रशासनले सडक सुरक्षाका साथै चालकहरूको स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

