अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा धान मकैमा राख्ने बेला युरिया मलको अभाव देखिएको छ। मल अभावका कारण किसानहरूलाई अत्यधिक सास्ती व्यहोर्नु परेको छ। केही किसानहरू १० किलो मल लिनका लागि ५ घण्टासम्म लाइनमा बस्न बाध्य भएका छन्।
सन्धिखर्क नगरपालिका क्षेत्रभित्रका किसानहरूले धान र मकैमा राख्नुपर्ने युरिया मलका लागि लामो समय लाइनमा बस्नुपरेको र गाउँतिरकाले मल नपाएको गुनासो गरेका छन्।
युरिया मल सन्धिखर्क नगरपालिकाको सिफारिसमा स्थानीय सहकारी संस्था र एग्रोभेटमार्फत वितरण हुँदै आएको छ। तर, आपूर्ति कम र किसानको माग अत्यधिक भएका कारण सहकारी र एग्रोभेट व्यवसायीलाई मल व्यवस्थापन गर्न मुस्किल परेको हो ।