अर्घाखाँचीको भुमिकास्थान नगरपालिका विकास र समृद्धिका काममा कसरी अगाडी बढेको छ भन्ने विषयमा प्रमुख प्रकाशकीय अधिकृत नारायणप्रसाद पोखरेलसँग नेपाल राज्यका प्रतिनिधि केशव पन्थीले गरेको संक्षिप्त कुराकानी :
भुमिकास्थान नगरपालिकामा विकासका के–के काम अगाडी बढेको छ ?
- योजना सम्बन्धी काय शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषि, खानेपानी, सडक निर्माण लगायत समग्र विकासमा द्रुत गतिमा अगाडी बढेको छ । नगरको कार्य योजना छ, त्यसलाई पछ्याउँदै अगाडी बढेका छौं । निर्वाचनले गर्दा केही समय ढिला भएको छ । एक्सन प्लान अनुसार अगाडी बढेका छौं ।
सडकका हिसाबले भुमिकास्थान कस्तो छ ?
- सबै वडा सडक सञ्जालले जोडिएको छ । नगरस्तरीय सडकलाई कालोपत्रेको काम भैरहेको छ । सबै वडा जोड्ने बाटाको स्तरोन्नती गर्न ठेक्का प्रक्रियामा अगाडी बढेको छ ।
बजेट के मा प्राथमिकता छ ?
पूर्वाधार भनेको विकासको पनि विकास हो भनिन्छ । पूर्वाधारमै सबैभन्दा बढी प्राथमिकता छ । यो सँगै शिक्षा, स्वास्थ्य र पूर्वाधारका विकास गर्ने गरी बजेट विनियोजन भएको छ ।
सामुदायिक स्कुलमा शैक्षिक गुणस्तरमा किन कमजोर भयो ?
- सरकारले मावि तहसम्मको शिक्षा निःशुल्क गरेको छ । अभिभावले ढुंगा, गिटी कुटेर भएपनि बोडिङ पढाउने अवस्था सृजना भएको छ । त्यसलाई चिर्दै सामुदायिक विद्यालयले पनि राम्रो शिक्षा दिन्छन् भन्ने कुरामा प्रमाणित गर्न हामी लागेका छौं । सरकारले शिक्षामा लगानी गरेको छ । त्यो लगानीको प्रतिफल प्राप्त गर्न १०/११ वर्ष लाग्छ । विद्यालय सुधार्नुपर्छ । शिक्षकले शैक्षिक गुणस्तर वृद्धि गर्न बढी उत्सुकता देखाउनुपर्छ । अहिलेका बच्चाले शिक्षकले जे गर्छन्, त्यही विद्यार्थीले सिक्छन् र सबै जिम्मेवार शिक्षक बन्नुपर्छ । विद्यालयसँग नगरपालिका भन्ने कार्यक्रम अगाडी ल्याएका छौं । सबै स्कुलमा स्थलगत अनुगमन गरिसकेका छौं । शैक्षिक सुधार कार्यक्रम, भौतिक पूर्वाधार विकास लगायतका कार्यक्रम छन् । सबै स्कुलमा बालमैत्री कक्षाकोठाको रुपमा रुपान्तरण गर्छौ । त्यसलाई डिजिटल बनाउने तयारीमा छौं । शिक्षकलाई कम्युटर र डिजिटल तालिम दिइनेछ ।
खानेपानीको अवस्था के छ ?
- खानेपानीको समस्या केही गाउँमा छ । सबैलाई पिउने पानीको व्यवस्था गर्न मुल दर्ता, पाइप वितरण, बाढीपहिरोले बिगारेका पाइपलाइन समस्या समाधान गर्ने र सबै घरमा खानेपानी पुराउने लक्ष्यका साथ अगाडी बढेका छौं ।
बेरोजगार युवालाई गाउँमै स्वरोजगार बनाउन के कस्ता योजना रहेका छन् ?
- पूर्णरुपमा बेरोजगार, बेरोजगार छुट्टाएर भुमिकास्थान के गर्न सकिन्छ । बाँझो रहेका कृषियोग्य जमिनलाई खेतीपाती गरेर उत्पादनलाई जोड दिएका छौं । कृषि योग्य जमिन बनाएर युवालाई तरकारी, अन्नबाली, फलफुल, पशुपालनमा आबद्ध गराउने काम भैरहेको छ । कृषि उत्पादन बजारीकरण कसरी हुँदैछ ? कृषि एम्बुलेन्स चलेका छन् । मार्केटिङको समस्या छ । सिजनवाला तरकारी उत्पादन गर्दा बिक्रीमा अलि कठिनाई छ । अब बेमौसमी तरकारी, अन्नबाली उत्पादन हुने गरी योजना अघि सार्दैछौं ।
अन्त्यमा केही भन्नु छ ?
- भुमिकास्थान नगरपालिकामा आफु नयाँ भएकाले विषय क्षेत्र अध्ययनमा छु । स्थानीय सरकारले बनाउने नीति, कानुनले यहाँका स्थानीयको जीवनस्तरलाई माथि उकास्नको लागि सबैले सहयोग गर्नुपर्छ । भुमिकास्थानलाई बस्न योग्य, भन्न योग्य र गर्ब गर्न योग्न बनाउने योजनाका साथ म यहाँ आएको हुँ । बाँकी काम गर्दै जाँदा कर्मले बताउनेछ ।