गोपालप्रसाद भट्टराई
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगर प्रमुख झविलाल थापाले नगरको चौतर्फी विकासको निम्ति सबै क्षेत्र श्रम र उत्पादनसँग जोडिनुपर्ने बताए । आन्तरिक स्रोत कम भएपनि भुमिकास्थानमा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेकोले यसलाई व्यवसायीक बनाएर समृद्धि हासिल गर्न सकिने उनले बताए ।
भुमिकास्थान–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घघाटन गर्दै नगर प्रमुख थापाले आगामी आर्थिक बर्षका योजना सुनाउदै शिक्षा, स्वास्थ, कृषि र पर्यटनलाई विकासको आधार मानेर अगाडी बढ्ने भन्दै उनले १० वटै वडामा घुम्ती स्वास्थ शिविर चलाउने बताए । नगरपालिकामा मुस्कान सहितको सेवालाई चुस्त ढंगले कार्यान्वयन गर्न नगरप्रमुख थापाले बताए ।
कार्यक्रममा नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले स्थानीय सरकारसंग धेरै अपेक्षा गरेको बताउदै सेवालाई ब्यापकता र विकासमा एकताको खाचो बताए। नेताहरूले उदारो आश्वासन बाँडेर राजनीतिलाई धुमिल्याएको भन्दै उप–प्रमुख बन्जाडेले जनतालाई झुक्याउने राजनीति नगर्न आग्रह गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्रीले भवन निर्माण भएसँगै वडाबासीलाई गुणस्तरीय सेवा सहज र छरितो प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
परम्परागत झन्झटिलो प्रणालीलाई त्यागेर आधुनिक प्रणालीमा अव्यस्त हुन पनि उहाले कर्मचारीलाई अनुरोध गरे । भुमिकास्थान–४ का वार्ड अध्यक्ष बाबुराम पन्थीको अध्यक्षता, वडासचिव निलम शाहीको स्वागत मन्तव्य र शेषकान्त घिमिरे ओशनको सञ्चालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थान–५ का वडा अध्यक्ष जयगोपाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका नेता कृष्ण सुनार र जग्गादाता जगत बहादुर खड्काले मन्तव्य राख्दै राम्रो काममा हातेमालो र गलत काममा खबरदारी गर्दै जानुपर्नेमा जोड दिए ।
प्रविष्ट गर्नुहोस्
Write to Birendra KC