काठमाडौं- लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेको खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
चितवनमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भई महत्वपूर्ण भूमिका निर्वाह गरेका आचार्यले पुनः केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका हुन्।
आचार्य नेकपा एमालेका अनुभवी, संघर्षशील र संगठन निर्माणमा खारिएका नेता हुन्। पार्टी विस्तार र सुदृढीकरणको क्रममा उनले पटक पटक जेल जीवन भोग्नुका साथै कुटपिटसमेत सहनुपरेको इतिहास छ। क्यान्सर, मृगौला जस्ता जटिल रोगलाई जितेर यहाँसम्म आइपुगेका आचार्यको जीवन संघर्षले भरिएको छ। संघर्षमय जीवनका बाबजुद उनी जनताबीच अत्यन्त लोकप्रिय छन्।
निस्वार्थ भावनाले राजनीतिमा लागेका आचार्य सरल, स्वच्छ छवि भएका, इमानदार र जुझारु नेताका रूपमा परिचित छन्। सरकारमा रहँदा वा नरहँदा उनले कहिल्यै आफ्नो इमानदारी र स्वाभिमानसँग सम्झौता गरेनन्।
मुख्यमन्त्री बनेपछि उनले उदाहरणीय निर्णयहरू गरे। पूर्व विशिष्ट पदाधिकारीलाई दिइँदै आएको सवारी साधन, इन्धन र मर्मत सुविधाहरू फिर्ता गराए। सरकारी कार्यक्रम होटल तथा रेष्टुरेन्टमा नगरी सरकारी हलमा सञ्चालन गर्ने, सरकारी आवासको प्रयोग गर्ने, स्वागत–विदाइ तथा औपचारिक कार्यक्रममा खादा र माला प्रयोग नगर्ने व्यवस्था लागू गरे। पाँच लाख रुपैयाँभन्दा माथिका आयोजना अनिवार्य टेन्डर प्रक्रियाबाट सार्वजनिक प्रतिस्पर्धामा लैजाने, स्वकीय सचिवमा आफन्त वा परिवारका सदस्य नराख्ने, अति आवश्यक बाहेक जिल्ला भ्रमण नगर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता लागू गर्ने र कार्यालयका अनावश्यक खर्च कटौती गर्ने जस्ता निर्णयमार्फत उनले प्रदेश सरकारको करोडौं रुपैयाँ जोगाएका छन्।
देशभरका कार्यकर्ताले पदाधिकारीमा उम्मेदवारी दिन दबाब दिए पनि आफूभन्दा वरिष्ठ नेताहरू रहेको भन्दै उनले खुला केन्द्रीय सदस्यमै उम्मेदवारी दिएकोप्रति कार्यकर्ताले खुलेर प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनलाई विजयी गराउन अपिलसमेत भइरहेको छ।
केन्द्रीय सदस्य बन्नुअघि आचार्यले अर्घाखाँची जिल्लामा २१ वर्ष पार्टी प्रमुखका रूपमा नेतृत्व गरे। पार्टी कमजोर अवस्थामा रहेको समयमा जिम्मेवारी सम्हालेका उनले संगठनलाई सुदृढ, बलियो र व्यवस्थित बनाए। पछिल्ला स्थानीय तह निर्वाचनमा जिल्लाका ६ पालिकामध्ये ३ पालिकामा प्रमुख–उपप्रमुख र २ पालिकामा उपप्रमुखसहित जिल्ला समन्वय समितिमा एमालेको सेटै विजयी गराउने सफल रणनीतिकारको रूपमा उनी परिचित छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि विपक्षी गठबन्धनलाई पराजित गर्न उनले निर्णायक भूमिका खेले।
पार्टी विभाजन र अस्थिरताको समयमा समेत नेकपा एमाले अर्घाखाँचीलाई एकताबद्ध राख्न उनी सफल भए। लुम्बिनी प्रदेशमा एमालेको बलियो खम्बाका रूपमा चिनिने आचार्य जेन्जी आन्दोलनका क्रममा व्यक्तिगत धरबास तथा सम्पत्तिमा आगजनी हुँदा पनि विचलित भएनन्। आफ्नै घर जलेर आफन्तको घरमा बस्नुपरेको अवस्थामा समेत उनले प्रदेशभर तोडफोड र आगजनीबाट पीडित व्यक्तिहरू र सरकारी कार्यालयहरूमा पुगेर ढाडस दिएका थिए।
जोखिम मोलेर प्रदेशका कुनाकुनामा पुगेर पीडितलाई भेट्ने उनको साहसिक भूमिकाको व्यापक प्रशंसा भयो। गृह जिल्लामा हजारौंको सहभागितामा सद्भाव र्याली तथा खबरदारी सभा आयोजना गरेर देशव्यापी ध्यानाकर्षण गराएका थिए।
आचार्य लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत भइसकेका छन्। छोटो अवधिमा पनि उनले महत्वपूर्ण र लोकप्रिय काम गरेका थिए। मन्त्री पदबाट बाहिरिएलगत्तै सबै सरकारी सुविधा त्यागेर साधारण सवारी प्रयोग गर्दै फर्किएको उनको व्यवहारलाई धेरैले उदाहरणीय मानेका छन्। अर्घाखाँची क्षेत्र नम्बर १ (क) बाट निर्वाचित आचार्य उच्च आदर्श र स्वच्छ छवि भएका नेता हुन्। जनतालाई देवतासरह मान्ने उनी कार्यकर्ताप्रति विशेष आत्मीय छन्। बोलेको कुरामा दृढ अडान राख्ने क्रममा उनले व्यक्तिगत रूपमा धेरै कुरा गुमाएका उदाहरणहरू छन्।
गम्भीर रोगबाट ग्रसित हुँदासमेत निरन्तर पार्टी र सरकारको काममा सक्रिय रहेका आचार्य आज पनि स्वास्थ्य समस्याका बाबजुद जिम्मेवारीमा खटिरहेका छन्। प्रदेशका सामान्य मतदाता देखि कार्यकर्तासम्म उनीसँग निरन्तर सम्पर्कमा रहने गर्छन्। कार्यकर्ताको दुःख–सुखमा साथ दिने आचार्य सबैलाई समान महत्व दिन्छन्, तर दलाली, भ्रष्टाचार र अनियमितताबाट टाढा रहने उनको स्पष्ट धारणा छ।
आचार्यको नेतृत्वमा नेकपा एमाले अर्घाखाँची जिल्लामा आज देशकै नमुना संगठनका रूपमा स्थापित भएको छ।

