वीरेन्द्र केसी, अर्घाखाँची ।
सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजनाको उपभोक्ता मूल संस्थाको चुनावमा चार दलीय गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बाबुराम भुसाल विजयी भएका छन्।
भुसालले कांग्रेस, एमाले, नेकपा र जनमोर्चाका साझा उम्मेदवार युवराज खत्रीलाई १२० मतले हराएका हुन्।
स्थानीय उपभोक्ताले दलहरूको सिन्डिकेट तोड्दै स्वतन्त्र उम्मेदवारलाई जिताएपछि खानेपानी समस्याको समाधानमा उपभोक्ताको भावना अनुसार काम गर्ने भुसालले बताएका छन।
अर्घाखाँची —सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको छैटौं अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा चार दलीय गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र विजयी भएका छन् । स्वतन्त्र नागिरक समाजका नाममा बाबुराम भुसालले कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाका अध्यक्षका साझा उम्मेदवार युवराज खत्रीलाई १ सय २० मतले पराजित गरेका हुन् ।
भुसालले ५ सय ६३ र खत्रीले ४ सय ४३ मत ल्याए । १ हजार ७ सय ३१ उपभोक्तामध्ये बुधबार भएको मतदानमा १ हजार ६८ मत खसेको थियो । खत्री कांग्रेस कार्यकर्ता हुन् ।
भदौ २४ को जेन–जी प्रदर्शनपछि भुसालले कांग्रेस सन्धिखर्क नगर सभापति पदसहित पार्टी परित्याग गरेर स्वतन्त्र भएका थिए । उनले जिल्लाको कांग्रेस नेतृत्वप्रति असन्तुष्ट जनाउँदै पार्टी छाडेका थिए । ९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समितिका सबै पदमा भागबन्डा गरेर चार दलका सन्धिखर्क नगरस्तरीय नेताले विज्ञप्ति निकालेर खत्री नेतृत्वको टिमलाई जिताउन उर्दी जारी गरेका थिए । त्यस्तै बुधबार साँझ कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ र सचिव अच्युत गौतमले विज्ञप्ति निकालेर बाबुरामलाई पार्टीले कारबाही गरेको र खत्री नेतृत्वको टिमलाई जिताउन उपभोक्तामा ह्वीप जारी गरेको थियो । भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टी, जेन–जी समूह र स्वतन्त्र व्यक्तिले समर्थन गरेका थिए ।
चार दलको घेराबन्दीका बीच मतदाताले स्वतन्त्रपूर्वक मत दिएर जिताएको र खानेपानीका हरेक समस्यालाई समाधान गर्ने काममा उपभोक्ताको मर्म र भावना अनुसार आफूले काम गर्ने नवनिर्वाचित भुसालले बताए । ‘सबै उपभोक्तालाई शुद्ध पानी खुवाउँछौं,’ उनले भने, ‘हरेक ठाउँमा श्रमदान गर्नेछौं ।’
दुईवटा विज्ञप्तिप्रति दलले सिन्डिकेट लगाउन खोजेको भन्दै उपभोक्ता आक्रोशित बनेका थिए । जिल्लामा रहेका रहेक सामाजिक संघसंस्थामा दलका शीर्ष नेता मिलेर भागबन्डा गर्ने र आफू नजिकैका कार्यकर्तालाई पद बाँड्ने दलीय परम्परा एवं सिन्डिकेट सन्धिखर्कका खानेपानीमा तोडिएको स्थानीय युवा कमल भुसालले बताए ।
भुसाल समूहबाट वरिष्ठ उपाध्यक्षमा वेदराज घिमिरे, कोषाध्यक्षमा सरिता महत क्षेत्री विजयी भए । जेन–जी आन्दोलनपछि घिमिरेले एमाले र क्षेत्रीले कांग्रेस परित्याग गरेका थिए । उपाध्यक्षमा गठबन्धनबाट भेषबहादुर क्षेत्री, सचिव जीवलाल पौडेल र सहसचिवमा कल्पना पोखरेल विजयी भए । सदस्यहरूमा गठबन्धनकै उम्मेदवार नवीन सुनार, मोतिलाल खनाल, कमला अर्याल विजयी भए । लेखा समिति संयोजकमा गठबन्धनकै सुनिता बेल्वासे विजयी भइन् ।
सो संस्थाबाट सदरमुकामको सन्धिखर्क, चुत्रावेशी लगायतका ठाउँमा पिउने पानी वितरण हुँदै आएको छ ।

