काठमाडौं – हाम्रो समाजमा माता,पिता र गुरुको एकदिन विशेष सम्मान र सम्झना गर्ने चलन छ , जसको लागि एउटा निश्चित दिन तोकिएको हुन्छ। माता तिर्थ औंसीमा आमाको सम्झना एवं सम्मान गर्दछौं । गुरु पूर्णिमाको दिन गुरुको सम्मान गर्दछौं र आज कुशेऔंशीको दिन बुबाको सम्झनामा आ-आफ्ना बुवालाई सम्मान गर्दै छौँ । हाम्रो समाजमा भन्ने गरिन्छ आमा , बुवा र गुरु नै देवता हुन् । देवी , देवतामा विस्वाँस गरेर निर्जीव ढुंगाको मूर्ति पूजा गर्नुभन्दा आफुलाई जन्माउने , हुर्काउने, बढाउने र भलो चाहने बाबुआमा र पढाउने र जीवनोपयोगी शिक्षा दिएर आत्मनिर्भर बनाउने , कल्याण चाहने र कर्मदिने गुरुको सम्झना र सम्मान गर्नु अत्यन्त सकारात्मक पक्ष हो । त्यसैले भनिन्छ ।
मातृ देवो भव।
पितृ देवो भव ।।
गुरु देवो भव ।।।
आज भाद्र कृष्ण औंशीको दिन हो। आजको दिनलाई “कुशे औंसी” भनिन्छ। आजैको दिनलाई “बुवाको मुख हेर्ने दिन” पनि भनिन्छ। अर्को आजको दिन भनेको “युवा कवि” मोतीराम भट्टको १६०औं जन्म जयन्ती पनि हो। त्यसैले यो पनि उनलाई सम्मान गर्दै ऊनी प्रति श्रद्धा सुमन अर्पण गर्नु सहि कार्य हो । मैले पनि “मोतीराम भट्टको १६०औं जन्मजयन्ती” शिर्षकमा मोतीरामको जीवनी सहितको लेख लेखेर उनको जन्मजयन्ती मनाउँदैछु।त्यसैले आजको दिन यी तीनवटा अवसरहरू जुटेको दिन हो ।
कुशे औंशीका दिन हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरूका घरमा ब्राह्मणहरूले मन्त्र गरी कुश भित्र्याउने परंपरागत चलन छ। जसले देवकार्य र पितृ कार्यमा शुद्धताको लागि काम गर्छ भन्ने मान्यता रहेको छ। यद्यपि आजभोलि यस्तो काम छाडीसकिएको छ । आजको समाजमा जातीय विभेदलाई कायम राखेर यस्तो बिनाआधार र प्रमाणको काल्पनिक र अन्धविश्वासको मान्यताको चलन गर्नु गलत हुन्छ । यो त पूरै अन्धविश्वास नै हो । अन्धविश्वासका कारण नै यस्तो मान्यता रहिआएको हो । अन्धविश्वासमा आस्था राख्ने भनेको मानिसमा आद्यात्मिक चिन्तन र दृष्टिकोणको कारण हो । त्यही खालको चेतनाको विकासका कारण पनि हो । म त के भन्छु भने ठोस आधार र बैज्ञानिक प्रमाण सहितको द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शनको विकल्पमा कुनै आधार , प्रमाण र सत्यता बिनाको आद्यात्मिकतालाई विस्वाँस गरि स्वीकार गर्नु जीवनमा ठूलो भुल सहित महान गल्ती पनि हो । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शन सम्बन्धि चेतना भएका मानिसहरुले अन्धविश्वासको आस्थालाई स्वीकार गर्दैनन् । त्यसैले कुशे औंशी भनेको महत्वपूर्ण पर्व भनेर स्वीकार गर्नै पर्ने पर्व होइन । यद्यपि आद्यात्मवादी दर्शनमा झुकाव भएका कारण त्यहीआध्यात्मिकताको अन्धविश्वासमा रमाउने मानिसहरूलाई त्यहीँ रमाइरहन दिनुपर्छ। तिनीहरूको द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी चेतनाको स्तर नउठाइकन जबरजस्त गर्नु हुँदैन । समाज सूधारसँगै त्यस्ता परंरागत रुढीबादी सँस्कृति र सँस्कारमा रमाउने मानिसहरूलाई समयले सही ठाउँमा ल्याउने छ ।
आजको यो दिनको अर्को नाम “बुवाको मुख हेर्ने दिन” पनि हो । यस अर्थमा यो दिन बढी महत्वपूर्ण दिन हो। किनकि यो दिन हाम्रा वृद्ध बुवाले आफ्ना छोराछोरीबाट सम्मान पाउने दिन हो। जसरी हाम्रा बुवाआमाले हामीलाई “ताते बाबु ताते”गर्दै हिंड्न र “को ख्वाई नानी को ख्वाई” गर्दै खान सिकाए । त्यसै गरी अहिले हामीले हाम्रा अशक्त बृद्धअबश्थाका बुवाआमालाई स्याहार सम्भार गर्ने बेला हो यो । त्यसैले वर्षको एक दिन भएपनि आफ्नो बुवालाई सम्मान गर्नु राम्रो पक्ष हो।
आफ्नो बुवासँग सँगै रहने छोराछोरीले त संधै आफ्नो बुवालाई सम्मान गरिरहेकै हुन्छन् । तैपनि यो दिनमा ती छोराछोरी र बुहारीहरूले , छोरी र ज्वाईंहरुले सदाका अरु दिनमा भन्दा यो दिन विशेषगरी “बुवाको मुख हेर्ने दिन” भनेर बुवालाई विशेष सम्मान गर्दछन्।
आफ्नो बुवासँग सधैँ रहन नपाउने छोरा बुहारी , छोरी र ज्वाई आजको यो दिनमा मीठा-मीठा खानेकुरा , फलफूलहरु र राम्रा र महत्वपूर्ण वस्त्र तथा चाहिने आवश्यक जिन्सी सामान भौतिक रूपमा नै उपहार दिएर सम्मान गर्दछन्। त्यो कुरा पनि राम्रो , सकारात्मक र स्वाभाविक नै मान्नु पर्दछ ।
आश्चर्यको कुरा त यो छ कि यो संसार छोडेर गएका भौतिक रूपमा देख्न ,भेट्न नसकिने बुवालाई जसले जीवित छँदा आफ्ना छोराछोरीबाट कुनै सम्मान पाउन सकेका थिएनन् , तिनीहरुलाई उनका सन्तानले गोकर्णेश्वर जस्ता कथित तिर्थस्थल मानिने मन्दिरमा गएर मरेका बुवालाई सम्मान गर्दछन् । यो गलत छ। यसको अर्थ यो हो कि जीवित छँदा उनीहरूले बुवालाई सम्मान गर्न नसकेको पश्चातापको पीडाको कारण मरेपछि मन्दिरमा गएर पिण्ड दिएर आत्मसन्तुष्टिका लागि यस्तो गर्दछन्। यद्यपि कतिपय छोराछोरी जसले बुवा जीवित छँदा राम्रै गरेका थिए तिनीहरुले पनि धार्मिक संस्कार मान्ने, परम्परा कायम राख्ने नाममा यही नै गर्दछन् । तर यो गलत र अर्थहीन कार्य हो ।
मेरो बुवा पनि अहिले यो संसारमा हुनुहुन्न । त्यसैले मैले बुवाको सम्मानमा मैले बुवालाई सम्झेर मात्र सम्मान गर्दछु। मैले मेरो बुवालाई जीवित छँदै मेरो बुवा प्रतिको दायित्व ,जिम्मेवारी र कर्तव्य पूरागरिसकेको छु। त्यसैले म सन्तुष्ट छु। मलाई कुनै आत्मग्लानी छैन । अहिले मेरो आमा पनि हुनुहुन्न। मलाई जन्म दिएर पालनपोषण गरी मलाई हुर्काउने, बढाउने र पढाउने बुवाआमालाई मैले सम्मानजनक ढंगले पालन पोषण र औषधि उपचार गरें । बुवा दमको रोगी हुनुन्थ्यो। २०३७ सालदेखि २०४९ सालसम्म यातायात सुबिधाको अभावको कारण डोकामा बोकाएर भएपनि नेपालमा पाल्पाको तानसेन , रुपन्देहीको बुटवल ,दाङको घोराही र इन्डियामा गोरखपुर, कानपुर, लखनौ, दिल्लीका अस्पतालहरुमा लगेर उपचार गराएँ । यो कुरा अहिलेसम्म जीवित रहनुहुने मेरा छिमेकी बुवाआमा ,दाजुभाइ र दिदीबहिनीहरु सबैलाई थाहा छ । स्वही रोगकै कारण २०४९ साल श्रावण ११ गते बुवाको निधन भयो।
मेरो आमालाई पनि २०५२ सालदेखि २०७३ सालसम्म आमालाई उहाँको सबै इच्छा र चाहनाहरु पूरा गरी खुसी बनाएँ। आमा पनि दमको बिमारले ग्रसित हुनुहुन्थ्यो। एकपटक २०६४ सालमा गोरखपुर लगेर औषधि गराएँ ।अलि पछिल्लो समयमा यातायात र अस्पतालको सुबिधा नेपालमै विकास भएकाले २०६६ सालदेखि २०७३ साल सम्म नेपालमै उपचार गराएँ । २०७३ साल माघ ४ गते आमाको निधन भयो।
अहिले मेरो मातापिता हाम्रो सामु हुनुहुन्न तापनि मैले आफ्नो बुवाआमालाई गर्नुपर्ने कर्तव्य जीवित छँदै सबै सम्मानजनक ढंगले पूरा गरेकोले मैले कुनै अन्धविश्वासबाट ग्रसित भएर पण्डित बोलाएर श्राद्ध गर्ने , पिण्ड बटार्ने र पितृ पूजा गर्ने काम गरेको छैन । यद्यपि मैले मेरो आमा र बुवाको स्मृति दिवसमा फोटो राखेर स्मरण गर्दै फूल अबिरले सम्मान गर्दै आएको छु । आज बुवाको मुख हेर्ने दिन बुवाको स्मरणमा बुवाप्रति श्रद्धा सुमन टक्राउँदै नमन गर्न चाहन्छु।
( नरेन्द्रबहादुर थापा -मिति :२०८२/५/०७ गते)