काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अर्घाखाँची र पाल्पा जिल्लामा वर्षासँग सम्बन्धित आकस्मिक चेतावनी जारी गरेको छ।
आज दिउँसो १ बजे जारी गरिएको सूचनामा भनिएको छ कि पछिल्लो १ घण्टामा अर्घाखाँचीस्थित वर्षामापन केन्द्र र पाल्पाको बल्ड्याङगढी केन्द्रमा मध्यम वर्षा मापन गरिएको छ।
विभागका अनुसार यी क्षेत्र आसपासको भूभागमा साना नदी, खोलामा पानीको बहाव एक्कासी बढ्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।
“सो क्षेत्र हुँदै बहने साना खोलाहरूमा बहाव केही बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाइराखौं,” सूचनामा उल्लेख छ।
स्थानीयवासी तथा यात्रुहरूलाई खोलानाला पार गर्दा विशेष सावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा बस्न मौसम विभागले अनुरोध गरेको छ।