अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले नेकपा एमालेलाई लोकप्रिय पार्टी बनाउने क्रममा आफ्नो महत्वपूर्ण भूमिका रहेको दाबी गरेका छन्।
जिल्ला अध्यक्ष चौहानले एमालेमा रहँदा मालारानी गाउँपालिका–५ बाँगी लगाएत जिल्ला लाई एमालेको किल्ला बनाएको उल्लेख गर्दै भने, “९५ प्रतिशत एमाले मत ल्याएर त्यो क्षेत्रको राजनीति मोडल बनाएको थिएँ। त्यसबेला जिल्ला हुँदै देशभर एमालेलाई एक नम्बर पार्टी बनाउन हाम्रो योगदान छ ।”
अध्यक्ष चौहानले एमालेका कार्यकर्ताको इमानदारीको खुलेर प्रशंसा गर्दै ७५ प्रतिशत नेता कार्यकर्ता अझै पनि उनलाई माया गर्ने बताएका छन्। उनले भने, “मैले तिनलाई भुल्न सक्दिन। तर अहिले एमाले नेतृत्व भित्र ‘म नै सर्वेसर्वा’ भन्ने प्रवृत्तिले पार्टीलाई बिगार्दै छ। त्यसैले हामी विद्रोहमा गयौं।”
चौहानले अर्घाखाँचीमा जन अपेक्षाअनुसार विकास नभएको टिप्पणी गर्दै वैज्ञानिक समाजवादको पक्षमा आफू उभिएको बताए। उनले जोड्दै भने, “हामी नेताहरू युवाको भरोसा जित्न सकेनौं, जसका कारण युवाहरू विदेश पलायन भए। सरकारलाई अब रोजगारीको ग्यारेन्टी र अवसर सिर्जना गर्न जरुरी छ।” पूर्व ऊर्जा मन्त्री टोपबहादुर रायमाझी हुँदा जिल्लामा बजेटको आगमन भएको उनले स्वीकारे। उनले फ़ेरि जोडे “अर्घाखाँचीले मुख्य मन्त्री पाएकोमा हामी भाग्यमानी छौं, तर पछिल्लो समय बजेटको आकार घटेको छ। शिक्षा, स्वास्थ्य, र अर्घा विमानस्थलजस्ता परियोजना प्राथमिकतामा परेका छैनन्,” चौहानको भनाइ थियो।
चौहानले वर्तमान राजनीतिक परिवेशमा युवाहरूको सम्मान र मागलाई ध्यानमा राख्दै रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्ने सम्भावना खुला रहेको पनि संकेत गरे।