कुवेत । नेपालका ताजा र गुणस्तरीय तरकारीहरू अब कुवेतको प्रमुख बहुराष्ट्रिय वजार लुलु हाइपरमार्केट मा पाइने भएका छन्। अल राईस्थित लुलु हाइपरमार्केटमा आयोजित एक विशेष कार्यक्रममार्फत नेपालबाट आयात गरिएका तरकारीहरूको सार्वजनिक प्रदर्शन गरिएको हो।
उद्घाटन समारोहमा नेपालका महामहिम राजदूत घनश्याम लम्साल, श्रम सहचारी गिरी प्रसाद आचार्य, तृतीय सचिव रामपुनित यादव तथा लुलु हाइपरमार्केटका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपालबाट सिमी, लामो बोंडी, अकबरे खुर्सानी, इस्कुस, करेला, बाँसको तामा लगायतका मौलिक तथा ताजा तरकारीहरू ल्याइएको हो। यी सामग्रीहरू सामान इन्टरनेशनल प्राइभेट लिमिटेड मार्फत कुवेत पुर्याइएका हुन्।
कार्यक्रममा बोल्दै सम्बद्ध पक्षले अर्गानिक अवोकाडो, स्याउ, लिची र नेपाली कफी समेत छिट्टै कुवेतको बजारमा पुर्याइने जानकारी दिएका छन्।
यस कदमले नेपाली कृषिप्रति अन्तर्राष्ट्रिय बजारको विश्वास, रोजगारी र निर्यात विस्तार तथा देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।