कमला घिमिरे, बुटवल — अर्घाखाँची छत्रगञ्ज–रुपन्देही सम्पर्क समाजको १२औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशन बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले सिद्धार्थ पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समाजका अध्यक्ष पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छत्रदेव गाउँपालिका–५ का वडाध्यक्ष बालकृष्ण पोख्रेल प्रमुख अतिथि तथा समाजका संस्थापक अध्यक्ष श्रीबहादुर रायमाझी विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा समाजका सल्लाहकार, आजीवन सदस्य, शुभेच्छुक तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभाको सुरुवात रक्तदान कार्यक्रमबाट गरिएको थियो। समाजका सल्लाहकार तथा अग्रज बुद्धिजीवीहरूको सहभागितामा ४३ पाउण्ड रगत संकलन गरिएको आयोजकले जनाएको छ। औपचारिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पोख्रेलले पानसमा बत्ती बालेर गरेका थिए भने स्वागत मन्तव्य समाजका उपाध्यक्ष जनार्दन पोख्रेलले राखेका थिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा संस्थापक आजीवन सदस्य भरतकुमार श्रेष्ठ र उनकी श्रीमती कल्पना श्रेष्ठको ५०औँ वैवाहिक वर्षगाँठ मनाइएको थियो। सो अवसरमा उनीहरूले समाजलाई १ लाख ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै अतिथिहरूले समाजले सामाजिक सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै स्थानीय तहबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सभामा अध्यक्ष सिद्धार्थ पन्थीले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष नवीन पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव विराट पौडेलले गरेका थिए।
अधिवेशनका लागि समाजका सल्लाहकार ओमबहादुर मल्लको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। समितिमा कृष्णप्रसाद पौडेल र रामप्रसाद पन्थी सदस्य रहेका थिए। अधिवेशनले आगामी तीन वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको अध्यक्षमा सिद्धार्थ पन्थी, उपाध्यक्षमा जनार्दन पोख्रेल, महिला उपाध्यक्षमा बन्दना पाण्डे, सचिवमा विराट पौडेल, कोषाध्यक्षमा महेश पौडेल, सह–सचिवमा अनिता आचार्य र अनिल सुनार चयन भएका छन्। सदस्यहरूमा प्रकाश पन्थी, गीता राना, सन्तोष श्रेष्ठ, उत्तम केसी, सिर्जना पन्थी, सुदर्शन पाण्डे र आकाश पन्थी रहेका छन्।
सभामा सहभागीहरूले समाजको एकता, विकास र युवा सहभागिता बढाउँदै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमको समापन गर्दै अध्यक्ष पन्थीले सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

